जनता टाइम्स

१० पुष २०८२, बिहीबार १५:२८

एमालेमा सर्वसम्मतीको युग सकियो, स्थायी कमिटी र पोलिटब्यूरो चुनावबाटै छान्ने यस्तो छ योजना


-हरदम कोइराला-

काठमाडौं। नेकपा एमालेमा ११औँ महाधिवेशनसँगै सर्वसम्मतीको प्रयास रोकिएको छ । चुनावमा प्रतिस्पर्धा गरेरै तेस्रो पटक नेतृत्व सम्हाल्नु भएका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा सर्वसम्मत बनाउने प्रयास असफल भई खुलेआम रूपमा चिट बोकेर दुई प्यानलमा भोट हाल्ने अवस्था सिर्जना भएपछि एमालेमा अव सर्वसम्मतीको युग सकिएको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बताएका हुन ।

महाधिवेशनमा दुई समूहमा विभाजित भई विद्युतीय मतदानबाट नेतृत्व चयन गर्दा गाइड राखेर परीक्षा दिए जसरी लिष्ट हेरेर छानी-छानी मतदान गर्ने ‘उत्कृष्ट लोकतान्त्रिक अभ्यास’ को थालनी एमालेले ११औँ महाधिवेशनमा गरिसकेको छ । महाधिवेशनमा प्यानल बन्ने गरेको भएपनि लिष्ट अगाडि राखेर मतदान गर्न पाउने व्यवस्था यसअघि कुनै पनि महाधिवेशनमा भएको थिएन ।यसपटक भने अध्यक्षका प्रत्याशी दुवै नेता केपी शर्मा ओली र ईश्वर पोखरेलले सहमति गरी विद्युतीय मतदान मेसिनमा लिष्ट हेरेर मतदानको व्यवस्था गरिएको हो ।

महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले समूह बनाएर चुनाव लड्दा तेब्बर भन्दा बढी मत ल्याएर तेस्रो पटक ओली अध्यक्ष बन्नुभएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेर पुस अन्तिम साता दोस्रो बैठक बोलाएको छ । सो बैठकले स्थायी कमिटी र पोलिटब्युरो चयन गर्नेछ । बैठकमा निर्वाचनबाटै स्थायी कमिटी र पोलिटब्युरो चयन गर्ने योजना रहेको नवनिर्वाचित पदाधिकारीहरूले केन्द्रीय सदस्यहरूलाई बताइसकेका छन् ।

एमाले स्थायी कमिटीमा अध्यक्ष ओलीसहित पदाधिकारीमा निर्वाचित १९ जना स्वतः रहने छन् । ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा रहेको कारण ओलीको नाममा चुनाव जितेका पदाधिकारीहरू चुनावबाट स्थायी कमिटी र पोलिटब्युरो चयन गरी पोखरेल समूहबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरूलाई केन्द्रीय कमिटीमै सीमित गर्ने योजना बनाइरहेका हुन । पोखरेल पक्षलाई पोलिटब्युरो र स्थायी कमिटीमा हराएर केन्द्रीय कमिटीमा मात्रै सीमित गरेर सबक सिकाउनु पर्छ भन्ने योजनामा सचिवद्वय डा. राजन भट्टराई र भानुभक्त ढकालको समूह लागेको केन्द्रीय कार्यालय पुग्ने केन्द्रीय सदस्यहरूले बताएका छन् ।

‘ईश्वर पोखरेल समूहबाट निर्वाचित कसैलाई पनि पोलिटब्युरो र स्थायी कमिटीमा छिर्न दिनुहुन्न भन्ने कुरा राजन र भानु कमरेडको छ, उहाँहरूले हामीलाई यही भन्नुभएको छ,’ केन्द्रीय कार्यालय पुगेर महासचिवमा दोहोरिन सफल शंकर पोखरेलसहितका नेताहरूलाई बधाई दिएर फर्केका केन्द्रीय सदस्यहरूको भनाई छ । ती केन्द्रीय सदस्यका अनुसार अध्यक्ष ओलीले भने पनि अर्को समूहबाट निर्वाचितलाई हराउने काम गर्न दुवै पदाधिकारीले भनिरहनु भएको छ ।

एमालेको महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ईश्वर समूहमा उभिने नेता ५ प्रतिशत पनि छैन । यस्तै १९ सदस्यीय पदाधिकारीमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले मात्रै हुनुहुन्छ । गत शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकले स्थायी कमिटी, पोलिटब्युरोको निर्वाचन गर्नेछ ।

एमालेको संशोधित विधानको धारा ६३ मा उम्मेदवार हुन आवश्यक योग्यता निर्धारण गरिएको छ । धारा ६३ (२) अनुसार केन्द्रीय कमिटीका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था रहेको छ । एमालेमा एक पटक केन्द्रीय सदस्य भइसकेको अध्यक्ष ओली निकट नै जसरी पनि चाहिन्छ, नत्र मान्दिन भनेर लागेको बेला स्थायी कमिटी र पोलिटब्युरो चयन संस्थापनलाई सकस परेको छ ।

स्थायी कमिटीमै रहेका नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने बाध्यताबिच नयाँको दबाबले अध्यक्ष ओलीसमेत दबाबमा रहेको र चुनावबाट चयनको बाटोमा सहमत हुने अवस्था रहेको बताइएको छ । एमालेमा स्थायी कमिटीका लागि ७० भन्दा बढी आकाङ्क्षी देखिएका छन् पोलिटब्युरोमा आकाङ्क्षी २५० भन्दा बढी छन्। एमालेमा एक कार्यकाल पोलिटब्युरो भइसकेकाहरूलाई स्थायी कमिटी सदस्य बनाउने चलन छ। यो परम्परा नमिच्न कतिपय सदस्यहरूले ध्यानाकर्षण पनि गराएका छन्।

एमालेको गत भदौ २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा गरेको दोस्रो विधान महाधिवेशनले केन्द्रीय कमिटीको चार तहको संरचनालाई तीन तहमा झारेको थियो । उक्त विधान महाधिवेशनबाट पारित विधानमा स्थायी कमिटी राखेको थिएन । तर ११ औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुनुभन्दाअघि बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी ब्युँताउँदै सङ्ख्या पनि निर्धारण गरेको थियो । एमालेको संशोधित विधानअनुसार ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी कमिटी निर्वाचित हुनेछ ।

एमालेको अब १९ पदाधिकारीसहित ३३ सदस्यीय स्थायी कमिटी हुनेछ । ३३ सदस्यीय स्थायी कमिटीका लागि ७० बढी आकाङ्क्षी देखिएका हुन । पदाधिकारीबाहेक केवल १४ जना स्थायी कमिटीमा निर्वाचित गर्नुपर्नेमा ५ गुणा ज्यादा आकाङ्क्षी देखिएका हुन । ईश्वर पोखरेल समूहबाट चुनावमा प्रतिस्पर्धा गरेकामध्ये पोखरेलसहित अग्नि खरेल, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, बिन्दा पाण्डे १०औँ महाधिवेशनपछि नै स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

चुनाव हुँदा पनि यी पाँच नेतालाई हराउन अध्यक्ष ओली तयार नभए पनि पदाधिकारीमा आएका नयाँ नेताहरू हराएर सबक सिकाउने योजनामा लागेका छन् । यो खेलमा लागेकाहरू ईश्वर पोखरेललाई समेत स्थायी कमिटीमा हराउने योजनाका साथ लागेको सूचना अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई पुगेको छ । 

चुनाव हुँदा पनि यी पाँच नेतालाई हराउन अध्यक्ष ओली तयार नभए पनि पदाधिकारीमा आएका नयाँ नेताहरू हराएर सबक सिकाउने योजनामा लागेका छन् । यो खेलमा लागेकाहरू ईश्वर पोखरेललाई समेत स्थायी कमिटीमा हराउने योजनाका साथ लागेको सूचना अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई पुगेको छ । ईश्वर समूहबाट जितेका आनन्दप्रसाद पोखरेल, गोकुल बाँस्कोटा र ठाकुर गैरे पनि दुई पटक भन्दा बढी पोलिटब्युरोमा रहिसकेका नेता हुनुहुन्छ ।

यस्तै स्वतन्त्र रूपमा उपसचिवमा उम्मेदवारी दिई पछि फिर्ता लिएको घोषणा गर्नुभएका निवर्तमान प्रचार विभागका प्रमुख राजेन्द्र गौतम, र सचिवका प्रत्याशी लालबाबु पण्डित पनि यसअघि नै स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो ।

यस्तै उपाध्यक्षमा उम्मेदवारी नदिएर केन्द्रीय कमिटीमा मात्रै निर्वाचित हुनुभएका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीसहित स्थायी कमिटी सदस्य रहनुभएका किरण गुरुङ, गोरख बोगटी र थममाया थापा स्वतः दाबेदार हुनुहुन्छ । पोलिटब्युरोमा रहेर काम गरिसक्नु भएका संस्थापनका सबै सदस्य पनि यसपटक स्थायी कमिटीमा दाबी गरेका छन् ।

अहिलेको अवस्था हेर्दा पाँचौँ महाधिवेशनमा मदन भण्डारी महासचिवमा निर्वाचित हुँदा झलनाथ खनाल स्थायी कमिटीमा हारेजस्तै अवस्था आउने पो हो कि भन्ने अनुमान एमाले वृत्तमा रहेको छ ।