काठमाडौ, पुस १०। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताउनुभएको छ ।
नेकपा (एमाले)को हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरु चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताउनुभयो । ‘अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन, वातावरण बनाउने सरकारले हो, हामीले वातावरण बिगारेका छैनौँ, वातावरण बन्छ भने हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौँ’, उहाँले भन्नुभयाे ।
असुरक्षाकाे बिचमा पनि आफ्नाे सुरक्षा खाेसिएकाे भन्दै ओलीले आक्राेस व्यक्त गर्नुभयाे । ‘त्यत्रो असुरक्षा हुँदा पनि हाम्रो सुरक्षा खोसिएको छ, कहिले जेनजीका नाममा मान्छे उचाले हमलाको प्रयास गरिएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘देशलाई पछाडि फर्काउने पक्षहरुबाट सचेत भएर युवाहरु लाग्नुपर्छ, राष्ट्रिय एकतालाई कायम गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नु हाम्रो काम हो, यी अभिभाराहरु हाम्रो काँधमा रहेका छन्, युवाहरु गलत सङ्गत सोच तथा व्यक्तिगत स्वार्थीका पछाडि लाग्नुहुन्न ।’

राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै बोलाइएको बैठकमा सहभागी भएको र त्यहाँ आफूले आफूहरु चुनावको विरोधमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने स्पष्ट गरेको बताउँदै उहाँले प्रतिनिधिसभाको पुनःस्थापना छिटो हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिनुभयो ।
उहाँले गत भदौ २३ र २४ गतेको घटनामा स्थलमा खटिएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउन खोजिनु कानुन सम्मत नभएको स्पष्ट गर्नुभयो ।
जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उहाँले भन्नुभयो, ‘स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको भएकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुन विपरीत छ ।’















प्रतिक्रिया दिनुहोस्