जनता टाइम्स

१० पुष २०८२, बिहीबार १९:५६

अरुलाई गाली गरेजस्तो सजिलो भएन सरकार चलाउन सुशीला कार्कीलाई : काम गर्न नसकेपछि आयाे फेन्ट हुने अवस्था 


काठमाडौं, पुस १०। प्रधानमन्त्री सुशीला कार्कीले सरकार सञ्चालनका क्रममा आफू र मन्त्रीहरू चरम दबाब, आलोचना र मानसिक तनावमा रहेको खुलासा गर्नु भएको छ।

कामकै क्रममा बेहोस हुने अवस्थासमेत आएको उल्लेख गर्दै उहाँले सरकार ‘अचानो’ जस्तै बनेको गुनासो गर्नुभयो। एक सार्वजनिक कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘कतिपय अवस्थामा काम गर्दागर्दै फेन्ट हुने अवस्था आएको छ, बाहिरकाले काम गरेको देख्दैनन्, सबै कुरा एकैचोटी होस् भन्छन्, क्षमता र तागतले भ्याएसम्म गरिरहेकै हुन्छौँ, तर हामी अचानो जस्तो भएका छौँ।’

प्रधानमन्त्री कार्कीका अनुसार सरकारमाथि चौतर्फी दबाब छ। राजनीतिक दलबाट मात्रै होइन, सामाजिक सञ्जाल र नयाँ पुस्ताबाट समेत निरन्तर आलोचना र राजीनामाको दबाब आइरहेको उहाँको भनाइ छ। ‘राजनीतिक दलले पनि गाली गर्छन्, अहिले छोड, भोलि छोड भन्छन्, जेनजीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ,’ उहाँले भन्नुभयो।

यस्तो दबाबबिच राजीनामा दिएपछि फेरि उल्टै दोषारोपण हुने अवस्था रहेको भन्दै प्रधानमन्त्री कार्कीले विरोधाभासपूर्ण राजनीतिक संस्कारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। ‘छोडेको भोलिपल्ट थुक्क पालो त दिएको थियो नि तिमीहरूलाई, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौ भन्ने भाष्य आउँछ, हामी त पेण्डुलम जस्तो भयौँ,’ उहाँको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले आफूहरू सबै कठिनाइका बाबजुद धैर्य, मेहनत र संयमका साथ काम गरिरहेको दाबी गर्नुभयो। ‘त्यही पनि सकस, मेहनत गरेर, धेरै धैर्य धारण गरेर काम गर्दै छौँ,’ उहाँले भन्नुभयो।

युवापुस्तामाझ निर्वाचनको आवश्यकता नै किन भन्ने प्रश्न उठ्न थालेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त भएको स्पष्ट पार्नुभयो। ‘हामीलाई निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ तर निर्वाचन संसारको नियम र कानुन हो, वैधानिकताको विषय हो, चुनाव नगर्ने हो भने तानासाही भए, खान आएको रहेछ भन्छन्,’ उहाँले भन्नुभयो।

प्रधानमन्त्री कार्कीले विभिन्न २५–३० वटा ‘जेनजी समूह’ सक्रिय रहेको र सरकार मुलुक अस्थिरतामा नजाओस् भन्ने चिन्तामा रहेको बताउनुभयो। ‘हामी मुलुक बङ्गलादेश नहोस् भन्ने चाहन्छौँ,’ उहाँले भन्नुभयो।