जनता टाइम्स

१० पुष २०८२, बिहीबार २१:३९

एमालेले गर्याे महाधिवेशनका भाेलेण्टियरलाई सम्मान 


काठमाडौं, पुस १०। नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका स्वयंसेवकहरूलाई सम्मान गरेको छ। पार्टीले महाधिवेशनमा विभिन्न जिम्मेवारी सम्हालेर योगदान दिएका भोलिन्टियरहरूलाई औपचारिक कार्यक्रममार्फत कदर गर्दै सम्मानपत्र प्रदान गरेको हो।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित सम्मान कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वयंसेवकहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनजस्तो ठुलो र जटिल राजनीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनुमा स्वयंसेवकहरूको मेहनत, अनुशासन र समर्पण निर्णायक रहेको उल्लेख गर्नुभयो। उहाँले पार्टीका हरेक गतिविधिमा स्वयंसेवकको योगदान पार्टी नेतृत्वले सधैँ स्मरण गर्ने बताउनुभयो।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका क्रममा मञ्च निर्माण, बन्दसत्रस्थलको व्यवस्थापन, प्रतिनिधि तथा पर्यवेक्षकहरूको आवतजावत, अनुशासन कायम, सूचना प्रवाह, सुरक्षासम्बन्धी समन्वयलगायत विविध जिम्मेवारीमा स्वयंसेवकहरू खटिएका थिए। विशेष गरी  यूथ भाेलेन्टियर्स, युवा तथा विद्यार्थी संगठन, महिला संगठन र अन्य जनसंगठनबाट ठुलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको थियो।

हजारौँ प्रतिनिधि सहभागी महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन स्वयंसेवकहरूले दिनरात नभनी काम गरेका थिए। ‘स्वयंसेवकहरू पार्टीको अदृश्य शक्ति हुन्, जसले संगठनलाई जीवित र गतिशील बनाइ रहन्छन् ।

सम्मानित स्वयंसेवकहरूले पार्टी नेतृत्वबाट पाएको सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिनुभएकाे छ। उहाँहरूले आगामी दिनमा पनि पार्टीका कार्यक्रम र अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ। महाधिवेशनलाई सफल बनाउन स्वयंसेवकहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्नुले पार्टीभित्र श्रम, त्याग र योगदानको मूल्याङ्कन गर्ने संस्कारलाई थप बल पुगेको विश्लेषण गरिएको छ।