जनता टाइम्स

११ पुष २०८२, शुक्रबार १७:५७

ढुङ्गाले लागेर मजदुरको मृत्यु


काठमाडौं, पुस ११।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छभने अर्का एक जना घाइते भएका छन् ।

ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार आज बिहान भएको उक्त घटनामा गुराँस गाउँपालिका–३ दैलेखका २४ वर्षीय भद्रबहादुर शाहीको मृत्यु भएको हो । ढुङ्गाले लागेर गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि आधारभूत स्वास्थ्य संस्था तापेथोक लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै, मधुवन नगरपालिका–४ बर्दियाका ३३ वर्षीय आकाश खड्का घाइते भएका छन् । खड्काको दाहिने खुट्टा भाँचिएको र प्राथमिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । भद्रबहादुर शाहीको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ ।

घटनास्थलमा प्रहरी चौकी तापेथोकबाट प्रहरी सहायक निरीक्षक पर्शुराम राउतको कमाण्डमा टोली खटिएको थियो । साथै अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक आशिष पोखरेलको कमाण्डमा समेत टोली परिचालन प्रहरी प्रमुख गौतमले जानकारी दिनुभयो ।