जनता टाइम्स

११ पुष २०८२, शुक्रबार १९:१४

राजनीतिक संवेदनशील घडीमा एकताको सन्देश दिनुपर्ने दायित्व छ, नयाँ भनिएका सबैले इगोलाई बिर्सिएर एकताको सन्देश दिऊँ : डा. तोसिमा कार्की


काठमाडौं, पुस ११। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले देश अत्यन्त संवेदनशील राजनीतिक घडीमा प्रवेश गरिसकेको भन्दै वैकल्पिक राजनीतिक शक्तिहरूले संयमता, परिपक्वता र विवेक देखाउँदै एकताको सन्देश दिनुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले ‘नयाँ राजनीति’को दाबी गर्ने सबै शक्ति आ–आफ्नो अहङ्कार त्यागेर साझा उद्देश्यतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । व्यक्तिगत इगो र स्वार्थलाई प्राथमिकतामा राखे मुलुक अझै अन्योलमा फस्ने खतरा रहेको उहाँको भनाइ छ । ‘हामी राजनीतिको निकै संवेदनशील घडीमा आइपुगेका छौँ, नयाँ भनिएका हामी सबैले आफ्नो इगोलाई आफ्नै खुट्टामुनि कुल्चेर धैर्यता, संयमता र परिपक्वता देखाउँदै एकताको सन्देश दिनुपर्ने अभिभारा अहिले हामीमाझ छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

उहाँले सबै वैकल्पिक राजनीतिक दलहरू गोलबद्ध भएर अघि बढ्नुपर्ने आह्वान गर्नुभएको छ । देशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने लक्ष्यका लागि साझा चुनावी प्रतीकका रूपमा ‘घण्टी’ बोकेर मूलधारको राजनीतिक नेतृत्व सम्हाल्नुपर्ने धारणा उहाँले अघि सार्नुभएको छ । ‘आउनुस्, सबै गोलबद्ध होऔँ, अब वैकल्पिक राजनीतिक दलहरूले साझा चुनाव चिन्ह ‘घण्टी’ बोकेर मूलधारको बागडोर सम्हाल्दै देशलाई भ्रष्टाचारमुक्त सुशासनको पवित्र धाम बनाऔँ’, कार्कीको आह्वान छ ।

डा. कार्कीले नेपालमा भएका सम्पूर्ण जनआन्दोलनका सहिदहरूको सम्मान सुनिश्चित हुने र ‘जेनजी’ पुस्ताका माग सम्बोधन हुने गरी समृद्ध नयाँ नेपालको नयाँ अध्याय सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । वैकल्पिक राजनीतिक शक्तिहरूबिच सहकार्य, एकता र साझा चुनावी रणनीतिबारे बहस चर्किरहेका बेला डा. कार्कीको यो अभिव्यक्तिलाई रास्वपा भित्र मात्र नभई समग्र वैकल्पिक राजनीतिमा एकताको सन्देशका रूपमा हेरिएको छ ।