जनता टाइम्स

१३ पुष २०८२, आईतवार १६:४९

एमाले रामेछाप नगर कमिटीद्वारा विपन्न, ज्येष्ठ नागरिक तथा आगलागी पीडितलाई न्यानाे कपडा वितरण 


रामेछाप, पुस १३ । नेकपा (एमाले) रामेछाप नगर कमिटी तथा जिल्ला कमिटी सदस्य नरेशबाबु श्रेष्ठको पहलमा नगरका विपन्न, ज्येष्ठ नागरिक तथा आगलागी पीडितलाई न्यानाे कपडा वितरण गरिएकाे छ ।

जिल्ला कमिटी सदस्य नरेशबाबु श्रेष्ठ, रामेछाप नगरकमिटी अध्यक्ष राेशन पाख्रिन, उपाध्यक्ष श्याम श्रेष्ठ लगायत नगर तथा वडा कमिटीका नेताहरु समेतकाे उपस्थितिमा माडवारी सेवा समाजको सहयोगमा रामेछाप नगरपालिका वडा नम्बर १, २ र ३ अन्तर्गत पर्ने गोठगाउँ, देउराली र साघुटार क्षेत्रका विपन्न एकल ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा (ब्ल्याङ्केट) ३१ सेट वितरण गरिएको हो।

यसैक्रममा हालै आगलागीबाट प्रभावित साँघुटार निवासी ठेट महतको परिवारलाई राहत स्वरूप १ थान राइस कुकर, ४ थान थाल, १ थान कराई तथा २ थान ब्ल्याङ्केट प्रदान गरिएको छ। साथै, जिल्ला कमिटी सदस्य नरेशबाबु श्रेष्ठको व्यक्तिगत तर्फबाट ६ हजार  रुपैँया नगद सहयोगसमेत हस्तान्तरण गरिएको नेकपा एमाल रामेछाप नगर कमिटी सचिव माधव ढकालले जानकारी दिनुभयाे ।

चिसो मौसममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा तथा आगलागी पीडित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ । सामाजिक उत्तरदायित्वको भावनासहित सम्पन्न उक्त कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति आयोजक पक्षले धन्यवाद व्यक्त गरेको छ।