जनता टाइम्स

१४ पुष २०८२, सोमबार १०:४६

वर्तमान राजनीतिक परिस्थितिबाट निकास दिने एकमात्र विकल्प निर्वाचन : प्रचण्ड


काठमाडौं, पुस १४ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक परिस्थितिबाट निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताउनुभएको छ ।

निर्वाचन मुखैमा आइपुगेको अवस्थामा अन्य विकल्प खोज्नु देशका लागि जोखिमपूर्ण हुनसक्ने उहाँको धारणा छ । बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनामा पर्न सक्छ, अब निर्वाचनमार्फत देशलाई स्थायित्वतर्फ लैजाने वातावरण बनेको छ ।’

उहाँले नेपाली जनताको  एकता, राजनीतिक दलहरूबिचको सहकार्य र सामूहिक प्रयासबाट मात्र राष्ट्रलाई सही निकासतर्फ लैजान सकिने बताउनुभयो। मुलुक अराजकतातर्फ जान नदिन सबै जिम्मेवार शक्तिहरू गम्भीर बन्नुपर्ने मा उहाँको जोड छ ।

निर्वाचनको तयारीका सन्दर्भमा आवश्यक कामहरू अघि बढिरहेको र सबै राजनीतिक दलहरू यस प्रक्रियामा संलग्न रहेको उहाँले बताउनुभयो। उहाँले पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’ले युवा पुस्ता देशको राजनीति र सुशासनप्रति सचेत बन्दै गएको सन्देश दिएको पनि उल्लेख गर्नुभयो ।