काठमाडौं, पुस १७ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा ५ निर्वान क्षेत्र रहेको झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला रहेको झापाबाट ९ जना समावेश गरिएको हो ।
गत पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट ९ जनाको प्रतिनिधित्व देखिएको हो । जसमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो रहनुभएको छ ।
समानुपातिकमा झापापछि १० निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट प्रतिनिधित्व गराइएको छ । काठमाडौंबाट ७ जनाको प्रतिनिधित्व रहेको छ । जसअनुसार लक्की शेर्पा, मिना बरामु, कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, सानुमैया खड्का, मायादेवी पोडेनी र निर्मल देउला पोडे हुनुहुन्छ ।
सचिव रघुबीर महासेठको गृहजिल्ला धनुषाबाट पनि ७ जनाकै प्रतिनिधित्व गराइएको छ । जसअनुसार उर्मिला देवी पासवान, यशोदा कुमारी यादव, मन्जु महतो, रेणु साह, अरविन्द साह, राम चरित्र साह र चन्द्रेश्वर यादव हुनुहुन्छ । यस्तै उपमहासचिव लेखराज भट्टको गृहजिल्ला कैलालीबाट ४ जना समावेश गरिएको छ । जसमा लीलाकुमारी भण्डारी, हरिशंकर योगी, इच्छा कुमारी चौधरी र सावित्रा घिमिरे हुनुहुन्छ ।
यस्तै समानुपातिकमा खासै ठूला नेता नभए पनि पाल्पाले पनि फडको मारेको छ । पाल्पाबाट ४ जना परेका छन । जसमा हीरासरा राना, ओमबहादुर घर्ती, थानेश्वरप्रसाद बस्याल र रोजी खातुन हुनुहुन्छ । चितवनबाट पनि ४ जना रामबहादुर थापा मगर, सन्तबहादुर प्रजा, प्रभा बराल र यमबहादुर परियारको प्रतिनिधित्व रहेको छ ।
यस्तै धादिङबाट ३ जना गंगादेवी श्रेष्ठ, क्रान्ति बुर्लाकोटी र डा. पुष्प कँडेल, काभ्रेपलाञ्चोकबाट तीन जना भक्तकुमारी लामा, सुमित्रा राजवंशी र इन्द्रबहादुर तामाङको प्रतिनिधित्व रहेको छ भने महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट ३ जना शान्ता चौधरी, कोमल वली र साजिदा सिद्दिकीको नाम सूचीमा समावेश छ ।
यस्तै सिराहाबाट नै ३ जना छन्, जसमा आशाकुमारी यादव, चन्द्रेश्वर मण्डल र राजेश अग्रवाल हुनुहुन्छ । रौतहटबाट पनि ३ जना परेका छन । अन्शु सिंह, बबिता दास कर्ण र सच्चितानन्द साह रौतहटबाट समानुपातिकमा समेटिएको हो । समानुपातिकमा ललितपुर, मोरङ, उदयपुर, लमजुङ, कास्की, स्याङ्जा, कञ्चनपुर, कालिकोट, पर्वत, बाँके, कपिलवस्तु, बारा, सर्लाही, अछाम र बझाङबाट दुई–दुई जनाको प्रतिनिधित्व गराइएको छ ।
यस्तै पाँचथर, इलाम, खोटाङ, सुनसरी, म्याग्दी, धनकुटा, मुस्ताङसहित ३० जिल्लाबाट एकएक जनाको प्रतिनिधित्व रहेको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई शतप्रतिशत समर्थन गरेको दोलखासहित २१ जिल्लाबाट भने प्रतिनिधित्व नै छैन । निर्वाचन आयोगमा बुझाएको सूची अनुसार २१ जिल्लाबाट कुनै पनि उम्मेदवार छैनन, ५६ जिल्लाको मात्रै प्रतिनिधित्व देखिन्छ ।
ताप्लेजुङ, तेह्रथुम, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, गोरखा, मनाङ, बागलुङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, जुम्ला, बाजुरा, डोटी, डडेल्धुरा, बैतडीबाट प्रतिनिधि शून्य रहेको हो । समानुपातिकमा नपारिएको अधिकांश जिल्लामा एमाले गत निर्वाचनमा समानुपातिक मतमा पहिलो बनेको देखिन्छ ।
एमालेको समानुपातिक उम्मेदवारको सूचीको छनोट महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय टीमले तय गरेको जस्मा मुख्य भूमिका सचिवद्वय भानुभक्त ढकाल र डा. राजन भट्टराईले गर्नुभएको तथ्य खुलिसकेको छ ।














प्रतिक्रिया दिनुहोस्