जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १२:११

प्रहरीद्वारा २७ रोपनीमा लगाइएको अवैध गाँजाखेती नष्ट


बाजुरा, बैशाख २७

जिल्ला प्रहरी कार्यालय बाजुराले ठूलो परिमाणमा गाँजाखेती नष्ट गरेको छ । प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको निर्देशनमा वैशाख २० गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको २७ रोपनी गाँजाखेती नष्ट गरिएको हो ।

एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय मार्तडीबाट खटिएको टोलीले बडीमालिका नगरपालिका–१ पाटामा १४ रोपनी, प्रहरी चौकी डोगडीबाट खटिएको टोलीले खप्तड छेडेदह गाउँपालिका–४ डोगडीमा छ रोपनी, प्रहरी चौकी कुन्नाबाट गएको टोलीले जगन्नाथ गाउँपालिका–१ को पीलुचौरमा एक रोपनी गाँजाखेती नष्ट गरेको प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

त्यस्तै प्रहरी चौकी विच्छ्याबाट खटिएको टोलीले हिमाली गाउँपालिका–५ बिउडीगोली भन्ने स्थानमा एक रोपनी, अस्थायी प्रहरी पोष्ट जुड्डीबाट खटिएको टोलीले जगन्नाथ गाउँपालिका–२ जुड्डीमा चार रोपनी गाँजाखेती नष्ट गरेको छ । त्यस्तै अस्थायी प्रहरी पोष्ट धुलाचौरबाट खटिएको प्रहरी गस्तीले हिमाली गाउँपालिका–६ बोल्डीगमा एक रोपनी गाँजखेती नष्ट गरेको प्रहरी प्रमुख भाटले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटबाट परिचालन गरेर ठूलो परिमाणको गाँजाखेती नष्ट गरिएको प्रहरीले बताएको छ ।

वर्षौँदेखि गाँजाखेती हुने र ठूलो परिमाणमा चरेस उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठूलो चलखेल हुने गर्छ । प्रहरी नायब उपरीक्षक भाटले जिम्मेवारी सम्हालेपछि अवैध मदिरा नष्ट, जुवातास, समाजमा शान्ति सुरक्षा भाँड्ने व्यक्तिलाई कारवाहीदेखि छाउपडीगोठ भत्काउनेसम्मका अभियान चलाउनुभएको छ । वैशाख २० गतेदेखि शुरु गरिएको अवैध गाँजाखेती नष्ट गर्ने अभियान निरन्तर जारी रहेको भाटले बताउनुभयो ।

स्थानीयवासीले चरेस र अफिमलाई आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पीडा महसुस गरे पनि यो खेती दीर्घकालीनरूपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । प्रहरीको गस्ती टोली नजाने जङ्गल छेउको पाखो जग्गामा गाँजाखेती हुने गरेको छ । यो समयमा हिउँदे गहुँबाली भित्र्याइसकेपछि त्यसमा प्रशस्त मात्रामा गाँजा हुने भएका कारण जिल्लाभरि नै नष्ट गर्ने अभियान रहेको प्रहरी नायब उपरीक्षक भाटको भनाइ छ ।

अवैध चरेस कारोबारी रोक्न गाँजाखेती नष्ट अभियान सञ्चालन गरेको प्रहरी प्रमुख भाटले बताउनुभयो । पहिलोपटक गाँजाखेती गर्ने वा गाँजा उत्पादन गर्नेलाई सम्झाउने समेत गरिएको छ । दोस्रोपटक सोही व्यक्तिले त्यस्तो कार्य गरेको पाइएमा कानूनी कारवाही गरिने बताइएको छ । जिल्लामा चरेसको कारोवारी भेटिन थालेपछि गाँजाखेती नष्ट गर्न जरुरी भएको उपरीक्षक भाटको भनाइ छ ।