काठमाडौं, पुस २४ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बिहीबार लामो छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउसो प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच झण्डै चार घण्टा लामो वार्ता भएको हो ।
दुई शीर्ष नेताबीच निर्वाचनको वातावरण, सरकारमा रहेका मन्त्रीहरूको पक्षपातपूर्ण व्यवहार र निर्वाचनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो । बालुवाटार स्रोतका अनुसार उहाँहरूबीच निर्वाचन केन्द्रित छलफलमा बढी समय लिइएको छ ।
कुराकानीको क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको र त्यसका लागि तयार रहेको जानकारी गराएको तर वातावरण भने अझै बन्न नसकेको धारणा राख्नुभएको छ । सुरुवाती समयमा नेकपा एमाले र खास गरी अध्यक्ष ओलीविरुद्ध देखिएको सरकार निर्वाचनको मिति नजिकिँदै जाँदा बढी छलफलमा केन्द्रित बनेको छ ।
मुलुककै सबैभन्दा प्रभावशाली नेता ओली भएको कारण प्रधानमन्त्री कार्कीले निर्वाचनदेखि मुलुकमा स्थिरताका लागि ओलीसँग विशेष चासोका साथ निकटता र निर्वाचनको वातावरण बनाउने विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको सरकारी स्रोतले बताएको छ ।
बिहीबारको वार्तापछि प्रधानमन्त्री कार्की एमाले मुलुकको जिम्मेवार र निर्वाचनका लागि प्रतिबद्ध दलका रूपमा पाएको प्रतिक्रिया मन्त्रीहरूलाई सुनाउनु भएको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले दुई शीर्ष नेताबीचको वार्ता निकै सकारात्मक र मुलुकका लागि फलदायी बनेको बताउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्