जनता टाइम्स

१ माघ २०८२, बिहीबार १८:४६

रवि लामिछाने चोख्याउने खेलविरुद्ध सडकमा उत्रिए नागरिक


काठमाडौं, माघ १ । प्रधानमन्त्री सुशिला कार्की आफै अग्रसर भएर रास्वपाका सभापति रबि लामिछानेलाई उन्मुक्ति दिने खेलमा लागेपछि नागरिक समाज आन्दोलित बनेको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरका आरोपित रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्धको अभियोग पत्र सच्याउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध नागरिक सडकमा उत्रिएका हुन ।

काठमाडौंको माईतीघर मण्डलामा आज सहकारी पीडितहरूले खबरदारी प्रदर्शन गरेका हुन । प्रदर्शनकारीहरूले सहकारी ठगी प्रकरणका अभियुक्तमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘राजनीतिक संरक्षण’ र ‘न्यायको उपहास’ भन्दै कडा आपत्ति जनाए ।

आफूहरूलाई न्याय दिन माग गर्दै उनीहरूले निर्णयविरुद्ध चर्को नाराबाजी समेत गरेका छन । महान्यायाधिवक्ता सविता भण्डारी बरालले मंगलवार विभिन्न जिल्ला अदालत (कास्की, रुपन्देही, काठमाडौं र पर्सा) मा लामिछानेविरुद्ध दायर अभियोगपत्र संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसूर फिर्ता लिन स्वीकृति दिनुभएको थियो ।

यो कार्यले योजनावद्ध रुपमा अभियुक्तलाई चोख्याउने काममा सरकार लागेको प्रष्ट भएको पीडितको भनाई छ । माइतीघर मण्डलामा सहभागी प्रदर्शनकारीहरूले यो निर्णयले सहकारी ठगीका पीडित वचतकर्ताहरूको हकहितलाई प्राथमिकतामा नराखेको र राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा कमजोर बनाइएको भन्दै आपत्ति जनाए ।

यसअघि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका कारण गम्भीर अभियोग लगाइएको भन्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिनुभएको थियो ।