काठमाडौं, माघ २ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंकको शाखा कार्यालय लुटपाटमा घरधनीकै संलग्नता रहेको खुलेको छ ।
बैंकको रकम लुटेर फरार घरधनी छविलाल स्याङ्तानसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा छविलालसहित काभ्रेको बनेपाका भागवत सिंह, सिन्धुलीको घ्याङलेखका चतुरमान बज्यु, चितवनको भरतपुरका शशाङ्क श्रेष्ठ, नुवाकोटको पञ्चकन्याका मिलन गिरी र विवेक मगर तथा सिन्धुलीकै अर्का एक किशोर रहेका छन् ।बैंकबाट लगेको भनिएको झन्डै ३ करोड ७ लाखमध्ये २ करोड ६८ लाख ५५ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीहरूले बैंक लुटपाटमा संलग्नता स्वीकार गरेका एसपी सुवेदीले जानकारी दिनुभयो । गएको पुस २९ गते बेलुका बैंकका सुरक्षा गार्डलाई घाइते बनाएर उनीहरूले रकम लुटेर लगेका थिए । लुटपाटमा संलग्नलाई अनुसन्धान गरि कारबाही अगाडि बढाउन जिल्ला अदालत सिन्धुलीले पहिलो पटक पाँच दिनको अनुमति दिएको छ ।













प्रतिक्रिया दिनुहोस्