जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार ०८:०२

खुलामञ्चलाई खाली गराउन आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई उपमेयर खड्गीको पत्र


काठमाडौं, मंसिर १८ । काठमाडौंको खुलामञ्चलाई खाली गराउन महानगरकी उप–प्रमुख हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गर्नुभएको छ । उहाले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गर्नुभएको हो ।

उप–प्रमुख खड्गीले महानगरका मेयर विद्या सुन्दर शाक्यलाई समेत बोधार्थ दिएर खुलामञ्च खाली गराउन निर्देशन दिन आग्रह गर्नुभएको छ ।
टुँडिखेल अतिक्रमणबाट जोगाउन सुरु अकुपाई टुँडिखेल अभियानका अयिान्ताहरुको आग्रहपछि केहि दिनअघि उप–प्रमुख खड्कीले खुलामञ्चको स्थलगत अनुगमन गर्नुभएको थियो उहाले अनुगमनका क्रममा खुलामञ्च सर्वसाधारणको पहुँचबाट टाढा पुगेको भन्दै यथाशीघ्र आवश्यक काम गर्न आग्रह गर्नुभएको थियो ।

खुलामञ्चमा अनधिकृत तरिकाले सवारी साधन पार्किङ हुने गरेको भन्दै यसलाई हटाउनसमेत पत्रमा भनिएको छ । अनुगमनका क्रममा देखिएका सात तथ्यहरु उल्लेख गर्दै त्यसलाई के गर्न सकिन्छ भन्नेबारेपनि पत्रमा लेखिएको छ । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै तीन साताअघि अकुपाईं टुँडिखेल अभियान सुरु भएको थियो । कात्तिक २३ गते पहिलो चरणको विरोधस्वरुप मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको थियो । गत शनिबार भने साहित्यिक जमघट गरेर विरोध जनाइएको थियो ।

अव्यवस्थित पार्किङ, अनधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर टुँडिखेल मासिँदै गएपछि सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् ।