जनता टाइम्स

६ माघ २०८२, मंगलवार १०:४५

प्रतिनिधिसभामा पुग्ने बामदेव गौतमको सपना फेरि चकनाचुर, प्रचण्डले दिए धोका


काठमाडौं, माघ ६। राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा जाने लामो समयदेखिको चाहना बोकेका नेकपाका वरिष्ठ नेता बामदेव गौतमको राजनीतिक यात्रा फेरि एक पटक बिचमा नै रोकिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यसहित राष्ट्रिय सभाको सदस्य पदबाट राजीनामा दिनु भएका गौतम अन्ततः कुनै पनि निर्वाचन क्षेत्रबाट टिकट नपाउँदा चुनावबाहिर पर्नु भएको छ।

गौतमले राजीनामा दिँदा नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालसँग सहमति भई सुरक्षित निर्वाचन क्षेत्रबाट उम्मेदवारी सुनिश्चित हुने अपेक्षा गरिएको थियो। तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दलले अन्तिम समयमा अन्य उम्मेदवार टुङ्ग्याउँदै जाँदा गौतम फेरि टिकटविहीन बन्नु भएको हो। यससँगै उहाँको प्रतिनिधिसभामा पुनरागमनको सपना अधुरै बनेको छ।

राजीनामा दिए, तर टिकट आएन

राजनीतिक वृत्तमा गौतमले राष्ट्रिय सभाबाट राजीनामा दिनु अघि प्रचण्डसँग स्पष्ट समझदारी भएको चर्चा व्यापक थियो। सो दलबाट बर्दिया वा अन्य कुनै सुरक्षित एक क्षेत्रबाट टिकट मिल्ने आश्वासनका आधारमा उहाँले राजीनामा दिएको बताइँदै आएको छ। तर उम्मेदवार छनोटको अन्तिम सूची सार्वजनिक हुँदै जाँदा गौतमको नाम कतै पनि नसमेटिँदा ‘राजनीतिक धोका’ भएको आरोप पुनः सतहमा आएको छ।

गौतम निकट स्रोतहरूका अनुसार प्रचण्डले पछिल्लो समय गठबन्धन व्यवस्थापन र आन्तरिक शक्ति सन्तुलनको नाममा गौतमलाई पन्छाएको बुझाइ छ। ‘राजनीतिक रूपमा उपयोग सकिएपछि फेरि किनारामा धकेलियो,’ भन्ने असन्तुष्टि गौतम पक्षमा देखिन थालेको छ।

पहिले एमाले, अहिले प्रचण्डसँग पनि तिक्तता

बामदेव गौतमको प्रतिनिधिसभा पुग्ने चाहनामा असफल भएको यो पहिलो पटक होइन। यसअघि नेकपा एमालेमा रहँदा पनि उहाँ चुनाव लड्नु भएको थियो र पराजित हुनुभएको थियो। चुनाव हारेपछि उहाँलाई राष्ट्रपतिबाट मनोनीत गरी राष्ट्रिय सभामा पुर्याइएकाे थियो । नेकपा फुटको बेला एकता अभियानकाे नाममा छुट्टै बस्नु भएका गौतम अन्ततः प्रचण्ड–माधव समूहसँग जोडिनु भएको थियो।

तर प्रचण्ड नेतृत्वमा आएपछि पनि उहाँले अपेक्षित राजनीतिक हैसियत र अवसर नपाएको गुनासो सुनिँदै आएको छ। पछिल्लो टिकट प्रकरणले त्यो दूरी अझै बढाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

गठबन्धन राजनीति र ‘बलिदान’ को राजनीति

गठबन्धन राजनीतिमा आफूलाई पटक–पटक ‘बलिदान’ दिइएको पात्रका रूपमा प्रस्तुत गर्दै आएका गौतमका लागि यो घटनाले गम्भीर राजनीतिक प्रश्न खडा गरेको छ। एकातिर राष्ट्रिय सभाको सदस्यता गुम्नु, अर्कोतिर प्रतिनिधिसभामा पुग्ने ढोका बन्द हुनु । यसले उहाँको सक्रिय संसदीय राजनीति नै संकटमा पारेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रचण्डले अल्पकालीन सन्तुलन मिलाउने क्रममा दीर्घकालीन भरोसालाई कमजोर बनाएको टिप्पणी पनि बढ्दै गएको छ। ‘गौतमजस्ता अनुभवी नेताहरू प्रयोगपछि किनारामा पारिनुलाई गठबन्धन संस्कृतिको प्रतिबिम्बका रूपमा हेरिएको छ ।

अब बामदेवको राजनीतिक भविष्य के?

टिकट नपाएपछि बामदेव गौतमले सार्वजनिक रूपमा धारणा राख्नु भएको छैन। तर उहाँ निकट वृत्तमा गहिरो असन्तुष्टि र आत्ममूल्यांकनको बहस सुरु भएको छ। अब उहाँ पुनः सक्रिय राजनीतिक भूमिकामा रहने कि राजनीतिक विश्रामतर्फ जाने भन्ने प्रश्न पनि उठ्न थालेको छ।

प्रतिनिधिसभामा फर्किने सपना बोकेर राष्ट्रिय सभाबाट बाहिरिएका बामदेव गौतम फेरि एक पटक ‘राजनीतिक वाचा र भरोसाको खेल’ मा पराजित भएको निष्कर्ष निकालिँदै छ। यस घटनाले प्रचण्ड नेतृत्वको विश्वसनीयता, गठबन्धनको नैतिकता र नेपाली राजनीतिमा प्रतिबद्धताको प्रश्नलाई फेरि केन्द्रमा ल्याइदिएको छ।