जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार ०८:२७

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता : आज कुन खेल कहाँ र कति बजे (सूचिसहित)


 

काठमाडौं, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज काठमाडौंमा एथ्लेटिक्स, कराँते, तेक्वान्दो, उसु, पुरुष फुटबल, पुरुष क्रिकेट, साइक्लिङ, गल्फ, सुटिङ, टेबलटेनिस, लन टेनिस, कबड्डी र खो खो का खेलहरु हुनेछन् ।

यसैगरी पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, ट्राएथ्लन, ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ । कराँतेतर्फ आज नेपालले ४ स्वर्ण पदकका लागि खेल्नेछ ।

सातदोबाटोस्थित कराँते हलमा हुने खेलमा व्यक्तिगत कुमुते र टिम कुमुते गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उसुतर्फ आज नेपालले दुई स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछ ।

उसुको पुरुष थाउलोतर्फ दिपक हमाल र हरि प्रसाद गोले भिड्दैछन् । तेक्वान्दोमा आज नेपालले ६ स्वर्ण पदकका लागि खेल्दैछ । आज पुरुष र महिलातर्फ ३–३ वटा स्वर्ण पदकको टुंगो लाग्दैछ ।

एथ्लेटिक्सतर्फ आज विभिन्न ९ स्पर्धामा खेलहरु हुनेछन् । एथ्लेटिक्सका खेलहरु काठमाडौंको दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुनेछ ।

पुरुष फुटबलमा नेपालले आज साँझ ५ वजे श्रीलंकाको सामना गर्नेछ । क्रिकेट अन्तर्गत महिलातर्फ आज नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दा श्रीलंका र माल्दिभ्स भिड्नेछन् ।

आजै पुरुष क्रिकेटमा बंगलादेश र माल्दिभ्स तथा श्रीलंका र भुटान भिड्नेछन् । खो खो को महिलातर्फ आज नेपालले उपाधिका लागि भारतसँग खेल्दैछ ।

खो खो कै पुरुषतर्फ बंगलादेश र भारत स्वर्ण पदकको लागि भिड्दा नेपालले तेस्रो स्थानको लागि श्रीलंकासँग खेल्नेछ । पोखरामा जारी ब्याडमिन्टनतर्फ आज एकल तथा टिम इभेन्ट्सका खेलहरु हुँदैछन् ।

गल्फका खेलहरु गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिनको खेलपछि गल्फको पुरुष व्यक्तिगततर्फ नेपालका शुक्र बहादुर राईले अग्रता बनाएका छन् ।

पुरुष टिममा पनि नेपालले अग्रता बनाएको छ । दोस्रो दिन आज नेपाल सोही अग्रता जोगाउदै अघि बढ्ने तयारीमा छ ।

टेबल टेनिसतर्फ आज पनि विभिन्न स्पर्धाका खेलहरु हुनेछन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी खेलमा नेपालले हिजो पुरुष टिममा रजत र महिला टिममा कास्य पदक जितेको छ ।

काठमाडौंको गोकर्णमा आजबाट साईक्लीङका खेलहरु सुरु हुनेछन् । सदिह पार्क गोकर्णमा आज साईक्लीङको महिला र पुरुष डाउनहिलका खेलहरु हुनेछन् ।

आजै हलचोकस्थित सशस्त्र प्रहरीको कभर्ड हलमा कबड्डीका खेलहरु सुरु हुँदैछन् । उता सातदोबाटोस्थित टेनिस कोर्टमा आज लन टेनिसका विभिन्न खेल हुँदैछन् ।

टिम इभेन्ट्सको पुरुष र महिलातर्फ नेपालको दुवै टिम बाहिरिसकेको छ । पोखरामा जारी ट्राएथ्लनमा आज एक स्वर्ण पदकको छिनोफानो हुँदैछ ।

ट्राएथ्लनतर्फ नेपालले दुई वटा स्वर्ण पदक जितिसकेको छ । मिक्स टिम रिलेतर्फ नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिला खेलाडीसहितको एक(एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २ दशमलब ५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

१३ औं सागअन्तर्गत ह्यान्डबलका खेलहरु आज पोखरामा सुरु हुँदैछ । पहिलो दिन चार खेल हुनेछन् । महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दा भारतले माल्दिभ्सको सामना गर्नेछ ।

पुरुषतर्फ नेपाल र श्रीलंका तथा भारत र बंगलादेश भिड्नेछन् ।