जनता टाइम्स

८ माघ २०८२, बिहीबार ०७:५७

नाटोसँगको वार्तापछि युरोपेली देशहरूमाथि अमेरिकाले लगाउने भन्सार कर स्थगित


काठमाडौं, ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गर्नुभएको छ ।

यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको हो ।राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै यो सहमति कार्यान्वयनमा आएमा अमेरिकाका लागि मात्र नभई सम्पूर्ण नाटो सदस्य देशहरूका लागि लाभदायक हुने बताउनुभएको छ । यद्यपि यस विषयमा नाटो महासचिव रुटेबाट औपचारिक पुष्टि आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।यसअघि ट्रम्पले स्वीट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै ग्रिनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको दाबी गर्नुभएको थियो ।

डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले नाटोसँगको वार्ता अत्यन्त सकारात्मक भएको उल्लेख गर्दै अमेरिकाको सुरक्षा चासोलाई डेनमार्कले सम्मान गर्ने र समाधान खोज्न तयार रहेको बताउनुभएको छ ।ट्रम्पका अनुसार सम्भावित सम्झौता दीर्घकालीन हुनेछ र यसमा दुर्लभ खनिज स्रोत तथा मिसाइल रक्षा प्रणालीसम्बन्धी विषयहरू पनि समावेश हुन सक्नेछन् ।

ग्रिनल्याण्डमा दुर्लभ खनिजको ठूलो भण्डार रहेको छ, जुन मोबाइल फोन र विद्युतीय गाडी निर्माणमा प्रयोग हुने भएकाले यसको रणनीतिक महत्त्व बढ्दै गएको छ ।यसअघि राष्ट्रपति ट्रम्पले बेलायत, डेनमार्क, फ्रान्स, जर्मनीलगायत नाटो सदस्य देशहरूबाट आयात हुने सबै सामानमा आउँदो फेब्रुअरीदेखि १० प्रतिशत र जुनदेखि २५ प्रतिशत भन्सार कर लगाउने चेतावनी दिनुभएको थियो ।नाटोकी प्रवक्ता एलिसन हार्टले आर्कटिक क्षेत्रमा डेनमार्क, ग्रिनल्याण्ड र अमेरिकाबीच रूस र चीनको प्रभाव रोक्ने उद्देश्यले वार्ता अघि बढ्ने प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ ।