जनता टाइम्स

१० माघ २०८२, शनिबार १५:५९

अहिले देश बनाउने र जलाउनेबीचको लडाईं जारी – अध्यक्ष ओली


काठमाडौं, १० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूसँग भोलिको भविष्यबारे केही पनि थाहा नभएको टिप्पणी गर्नुभएको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्ने क्रममा उहाँले नारायणगोपालले सुनाएको गित स्मरण गर्नुभयो ।

‘सायद नारायणगोपालले गाउनुभएको होला, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होइन केही थाहा छैन,’ ओलीले भन्नुभयाे, ‘उहाँ (नयाँ दल) हरूको यात्रा त्यस्तै हो । भोलि कहाँ जाने त्यो पनि थाहा छैन, भोलि कहाँ जाने त्यो पनि थाहा छैन ।’

आज नयाँ भनिएका दलका एक जनाको फेसबुक स्टाटस हेरेको बताउँदै ओलीले उक्त स्टाटसमा आफूलाई मोटोमुनि गाडिदिने कुरा लेखेको भन्दै आपत्ति जनाउनुभयो । ‘एउटा स्टाटस हेरेको थिएँ मैले, अहिलेको नयाँहरूले लेखेछन्, केपी ओली महत्त्वपूर्ण हुनुहुन्छ, त्यसकारण उहाँलाई मोटोमुनि गाडिदिनुपर्छ,  कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति, हामी विचार गर्न सक्छौं,’ ओलीले भन्नुभयो ।

अहिले देश बनाउने र जलाउनेबीचको लडाईं जारी रहेको ओलीको भनाइ छ । ‘कस्तो पवित्र भावना हेर्नुस् त मान्छे गाडिदिने ज्युँदै, त्यसकारण देश जलाउने र बनाउनेकाबीचको लडाईं छ अहिले, हामी देश बनाउने काममा जुट्नुपर्छ,’ उहाँले भन्नुभयो ।