जनता टाइम्स

११ माघ २०८२, आईतवार ०८:४१

देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक छ, म तयार छु :अध्यक्ष ओली


काठमाडौं, माघ  ११। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको छ । साथै उहाँले आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् एमाले अध्यक्ष ओलीले अहिले उठिरहेको विषयलाई आफूले सकारात्मक रूपमा लिएको जानकारी गराउनुभएको छ । ‘नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्, देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ, यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ, फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ’, उहाँले लेख्नु भएकाे छ ।

यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका बताउँदै उहाँले  देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक रहेकाे बताउनु भएकाे छ ।  ‘यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु, चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु, त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु’, उहाँकाे आग्रह छ ।

प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरुबाट अघि सारिएका एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बालेन साहलगायतलाई ‘पब्लिक डिबेट’ गर्नुपर्ने माग अहिले सामाजिक सञ्जालमा चलेको छ ।