काठमाडौं, माघ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सवै तहका नेतादेखि संगठित सदस्यसम्मलाई ब्यक्तिगत पत्र पठाएरै चुनावी अभियानमा होमिन आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिलसहितको पत्र पठाउनु भएको हो ।
अध्यक्ष ओलीको हस्ताक्षर गरेर नै पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई बहुमत सिटका निम्ति क्रियाशील हुन आग्रह गर्नुभएको हो । ‘यहाँलाई अवगत नै छ–आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको हार-जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु,’ अध्यक्ष ओलीले पत्रमा भन्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले आजसम्म ६ लाख ६३ हजार पार्टी सदस्य सवैलाई सो पत्र पठाइसक्नु भएको छ । अध्यक्ष ओलीले अव देशभरका सवै मतदातालाई पनि यस्तो पत्रमार्फत अपिल गर्न लाग्नुभएको छ । देश बनाउने र देश जलाउनेबीचको जनतम संग्रह भएको भन्दै अध्यक्ष ओलीले एमालेको सूर्य चिन्हमा मतदान गरी देश बनाउनेको जीत सुनिश्चित गर्न आग्रह गर्नुभएको हो ।
‘पार्टीको यो अपिल पार्टीका सदस्यहरूका लागि मात्रै होइन, आम मतदातालाई पनि हो,’ एमाले निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले भन्नुभयो । एमालेले फागुन २१ को निर्वाचन देश बनाउने र देश जलाउनेबीचको लडाईं भएको बताउँदै आएको छ ।













प्रतिक्रिया दिनुहोस्