काठमाडौं, माघ ११ । कमरेड अध्यक्ष, तपाईंले पठाउनु भएको पत्र प्राप्त भयो …यो पत्रले निकै हर्षित र उत्साहित तुल्याएको छ । म तपाईंको निर्देशनअनुसार सूर्य ध्वजाबाहक उम्मेदवारलाई फराकिलो मतअन्तरसहित जिताउन सम्पूर्ण रूपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
माथि उल्लिखित यी शब्दहरू नेकपा एमालेका नेतादेखि कार्यकर्तासम्मले अध्यक्ष केपी शर्मा ओलीसामू गरेका प्रतिवद्धता र अठोट हुन । एमाले अध्यक्ष ओलीले शनिवार दिउसोबाट देशभरका नेता–कार्यकर्तालाई ब्यक्तिगत सम्बोधन गरेर पत्र पठाउनु भएपछि आफ्नो असन्तुष्टि त्यागेर एमाले नेता–कार्यकर्ता पङ्तीले उत्साहित हुँदै जनाएका प्रतिवद्धता हुन ।
मुलुक यतिबेला फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएको छ । निर्वाचन आयोगले आफ्नो तयारीलाई तीब्रता दिइरहँदा राजनीतिक दलहरू उम्मेद्वारी दर्तापछि मतदातामाझ पुग्न थालिसकेका छन । यसबीचमा बिघटित प्रमुख दलका शीर्ष नेताहरू आफै चुनावी अभियानमा मतदाता भेटघाटमा पुगेर अवस्थाबारे प्रारम्भिक जानकारी हाँसिल गरेका छन ।
यसबीचमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५ दिन आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा बिताउनु भएको छ । उहाँले दकम बजारदेखि स्कूलचौनसम्म पुगेर मतदाता भेटघाटका साथ पार्टी र सामाजिक क्षेत्रका अगुवासँग भेटघाट गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ का मतदाता भेटघाट गरी आवश्यक जानकारी लिनुभएको छ । आफूले लगातार जित्दै आएको काठमाडौं–४ छाडेर मधेश हानिनुभएका सभापति थापाले निर्वाचन क्षेत्रका मतदाता र युवासँग एकसरो छलफल गर्नुभएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुमपश्चिमका मदताता भेटघाट गरी काठमाडौं फर्कनुभएको छ । यस्तै अन्इ दलका शीर्ष नेता पनि पहिलो चरणको मतदाता भेटघाट सकाएर राजधानी फर्कनुभएको छ । यस्तै बिघटित प्रतिनिधिसभाको चौथो दल रास्वपाका सभापति रबि लामिछाने चितवनका मतदाता भेटेर राजधानी फर्कनुभएको छ ।
यसबीचमा सवैजसो दलका प्रमुख नेताले देशभरको अवस्थाबारे पनि आवश्यक योजना बनाएर अभियान अघि बढाएका छन । यहीबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन क्षेत्रबाट राजधानी फर्केर पार्टीका सवै नेतादेखि कार्यकर्तासम्मलाई ब्यक्तिगत सम्बोधन गरेर पत्र पठाउनु भएको छ । भर्खरै महाधिवेशन सम्पन्न भएको र महाधिवेशनमा पराजीत नेता कार्यकर्ताहरू अध्यक्ष ओलीबाट हेलामा परेको महसुष गरिरहेको बेला पत्र आएपछि नेतादेखि कार्यकर्ता पङ्ती निकै उत्साहित बनेको छ ।
ओलीको पत्र पाएपछि असन्तुष्ट र नजरमा पर्न नसकेको भन्दै रिसाएर बसेका नेतादेखि कार्यकर्ता पनि काममा खटिएका छन । उनीहरुले सामाजिक सञ्जालमै साँघुरो घेरावन्दीले आफूहरु भेट नपाउने कार्यकर्ताको दर्जामा परेको भए पनि पत्रले निकै हर्षित बनाएको जवाफ लेखेका छन । ओलीको पत्र राखेरै उनीहरुले ‘अध्यक्ष कमरेडको स्नेह रहेको तथ्य उजागर भएको भन्दै पत्रले काम गर्ने उत्साहलाई चार गुण बढाएको बताएका छन ।
एमालेका पूर्वकेन्द्रीय सदस्य युवराज बाँस्कोटा ‘यज्ञ’ ले निकै मार्मिक जवाफ दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘कमरेड अध्यक्ष, तपाईंले पठाउनु भएको पत्र प्राप्त भयो । तपाईं पछिल्ला केही वर्षयता आफू केन्द्रीकृत निश्चित मानिसको भीडमा हुनुहुन्छ, घेराबन्दीमा हुनुहुन्छ, मजस्ता कैयौं कार्यकर्ताको पहुँचदेखि धेरै टाढा हुनुहुन्छ ! यसकारण पनि नजिक पर्न सक्ने पहुँच अभाव भएको थियोे । यस दौरान प्राप्त यो पत्रले मलाई निकै हर्षित तुल्याएको छ । यसनिम्ति हार्दिक धन्यवाद ! म मेरो योग्यता, क्षमता र विवेकले भ्याएसम्म प्रेषित यो पत्रअनुसार निर्देशित रहँदै काममा लाग्नेछु । र, हाम्रो पार्टी नेकपा (एमाले) नेतृत्वको बहुमतको सरकार बनाउन आफ्ना सूर्य ध्वजाबाहक उम्मेदवारलाई फराकिलो मतअन्तरसहित जिताउन सम्पूर्ण रूपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । हार्दिक अभिवादनसहित !’
बाँस्कोटाकै जसरी झण्डै दुई सय नेता कार्यकर्ताले पत्र सार्वजनिक गर्दै आफूहरुलाई निकै उर्जा थपिएको बताएका छन । पत्र प्राप्त भएकोमा गर्व महसुष गर्दै नेता–कार्यकर्ताले भनेका छन, ‘हामी तपाईंको निर्देशनको पालना गर्न प्रतिवद्ध छौं । सूर्यध्वजाबहाकलाई सानदार जीत निकालेर देश बनाउने कि देश बिग्रन दिने भन्ने लडाईंमा पार्टीको बिजयको सुनिश्चित गर्नेछौं ।’
एमालेमा भर्खरै महाधिवेशन सम्पन्न भएर कार्यकर्ता जिम्मेवारीबिहीन बनेको बेला चुनावमा होमिनु परेपछि अध्यक्ष ओलीले सवै नेता कार्यकर्तालाई ब्यक्तिगत सम्बोधन गरेर नै पत्र पठाउनु भएको हो । सो पत्रमा अध्यक्ष ओलीले यो चुनाव सरकार बनाउने बिषय मात्र नभई देश देशकै भविश्यसँग जोडिएको उल्लेख छ ।
ओलीले पत्रमा लेख्नुभएको छ, ‘यहाँलाई अवगत नै छ–आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको हार–जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु ।’ ओलीको यस पत्रको जवाफ सामाजिक सञ्जालमै दुई हजार बढीले लेखेर उर्जा थपिएको प्रष्ट पारेका छन ।
एमाले अध्यक्ष ओलीले पहिलो चरणमा पदमा भए पनि काममा नलागेका नेता र जनसंगठनको पङ्ती पहिचान गरी सुरुमा पत्र पठाउनु भएको थियो । पद ओगटन तर काममा कतै देखा नपर्नेहरूलाई पहिचान गरी पत्र पठाएपछि अध्यक्ष ओलीले डिजिटल माध्यमको प्रयोग गरी ह्वाट्सएफमार्फत क्रमशः सवैलाई ब्यक्तिगत सम्बोधन गरी पत्र पठाउनु भएको हो ।
एमाले केन्द्रीय प्रचार बिभागका संयोजक मीनबहादुर शाहीका अनुसार अध्यक्ष ओलीले आजसम्म संगठित सदस्य सवैलाई पत्र पठाइसक्नु भएको छ । यो पत्र पठाउने काममा केन्द्रीय कार्यालय र निर्वाचन परिचालन कमिटीका सचिव बिष्णु रिमालले समन्वय गरिरहनु भएको छ । उम्मेद्वार बनेका पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सवै निर्वाचन क्षेत्रमा खटिएको कारण अध्यक्ष ओलीको पत्र पठाउने कामको समन्वय एमाले नेता रिमालको नेतृत्वमा भइरहेको हो ।













प्रतिक्रिया दिनुहोस्