दमक (झापा), माघ १२ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा यति बेला झापा क्षेत्र नम्बर-५ निकै चर्चामा रहेको छ । देशभर १६५ निर्वाचन क्षेत्र रहे पनि हरेक दिन झापा-५ को चर्चा हुने गरेको छ । चर्चाको कारण हो-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को उम्मेदवारी ।
झापा–५ एमाले अध्यक्ष ओलीको आधार इलाका हो । यस क्षेत्रबाट २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनबाहेक ओली कहिल्यै पराजित हुनुभएको छैन । यही क्षेत्रमा जेन–जी आन्दोलन हाइज्याक गरेर सिंहदरबार, संसद् भवन र अदालतसहित देश नै जलाउने लुसिफरको भूमिकामा रहेको आरोप लागेका बालेन उम्मेदवार बन्न गएपछि ओलीसँगै उहाँको पनि चर्चा चुलिएको छ । चर्चा मात्र होइन, देश जलाउनेलाई छान्ने कि देश बनाउनेलाई छान्ने भन्ने ध्रुवीकरण मतदाताबिच हुन थालेको छ ।
एमालेले अध्यक्ष ओलीलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा होमिएको छ भने रास्वपाले पनि सभापति रवि लामिछानेको साटो बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । एकै निर्वाचन क्षेत्रमा ठिक विपरीत एजेण्डा बोलेका भावी प्रधानमन्त्रीका दुई उम्मेदवार बनेसँगै झापा-५ चर्चामा आएको छ । केपी ओलीको कारण सदाबहार चर्चामा रहने झापा-५ मा बालेन समेत उम्मेदवार बनेर आएपछि थप चुलिएको छ ।
काठमाडौं महानगरपालिकाको मेयर पद बिचैमा छाडेर झापा-५ नै रोज्नुको कारण बालेन स्वयंले केही बताउनु भएको छैन । यद्यपि बालेनको रोजाइलाई देश जलाउने आरोपको प्रतिवादका रूपमा अर्थ्याउन थालिएको छ । एमालेले सबैभन्दा पहिला सिंहदरबार, संसद् भवन र अदालतमा आगो लगाउने काम बालेनले गराएको निष्कर्ष सार्वजनिक गर्दै कारबाहीको माग गरेको थियो भने बालेनले एमाले नेतातिर आरोप तेर्स्याउनु भएको थियो ।
भावी प्रधानमन्त्रीका दुई उम्मेदवार ओली र साह भिडेपछि झापा-५ यति बेला राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै चर्चाको केन्द्र बनेको छ । झापा-५ मा दुई ‘भावी प्रधानमन्त्री’ एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी बन्दा सर्वत्र चासो बढेको पनि देखिएको हो । राजनीतिक दलमा मात्रै होइन मतदातासमेत दुई जनाको नाम लिएर बहसमा उत्रिएकाले चुनावी सरगर्मी ह्वात्ते बढेको देखिएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट मन्दरा चिमरिया उम्मेदवार हुनुहुन्छ भने नेपाली कम्युनिष्ट पार्टीले अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रहेका युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा कुल २४ जना उम्मेदवार रहेका छन् जसमध्ये कांग्रेसका चिमरिया, स्वतन्त्र दुई जना रञ्जना गौतम र शोभा भण्डारी गरी तीन जना मात्रै महिला उम्मेदवार रहेका छन् । निर्वाचनमा सबैभन्दा कान्छा उम्मेदवारका रूपमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट २७ वर्षीय सुशान्त साग्त राई हुनुहुन्छ ।
झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको छ । जिल्ला निर्वाचन कार्यालयले जनाएअनुसार सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नम्बर ५ मा मात्रै ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई जना गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन् ।
यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् ।झापा क्षेत्र नम्बर ५ मा दमक नगरपालिकाको १० वटै वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको चार वटा वडा र कमल गाउँपालिकाको ७ वटा वडा पर्दछन् ।
कुन वडामा कति मतदाता ?
दमक नगरपालिका
वडा नम्बर १ – ६,७९४
वडा नम्बर २ – ६,७७६
वडा नम्बर ३ – ८,०२२
वडा नम्बर ४ – ७,०५८
वडा नम्बर ५ – ७,९८४
वडा नम्बर ६ – ४,४६०
वडा नम्बर ७ – ५,५२३
वडा नम्बर ८ – ६,६७१
वडा नम्बर ९ – ७,९४५
वडा नम्बर १० – ४,७६४
गौरादह नगरपालिका
वडा नम्बर १ – ६,९०४
वडा नम्बर २ – ३,५२०
वडा नम्बर ३ – ३,७९०
वडा नम्बर ४ – ६,२३५
वडा नम्बर ५ – ६,२८७
वडा नम्बर ६ – ५,०५७
वडा नम्बर ७ – ५,७०१
वडा नम्बर ८ – ३,९८१
कमल गाउँपालिका
वडा नम्बर १ – ५,२१२
वडा नम्बर २ – ५,२३९
वडा नम्बर ३ – ५,१०३
वडा नम्बर ४ – ६,०३२
वडा नम्बर ५ – ७,२३७
वडा नम्बर ६ – ५,८८५
वडा नम्बर ७ – ६,०७८
गौरीगञ्ज गाउँपालिका
वडा नम्बर ३ – ५,३३३
वडा नम्बर ४ – २,८६७
वडा नम्बर ५ – २,७५८
वडा नम्बर ६ – ४,१६३













प्रतिक्रिया दिनुहोस्