जनता टाइम्स

१३ माघ २०८२, मंगलवार २२:५२

बालेन झापा-५ बाट जित्दैनन्, भ्रष्ट-ठग र राष्ट्रघातीहरुलाई नै जिताउँछन् भने मेरो भन्नु केही छैन : हर्क साम्पाङ 


काठमाडौं, माघ १३। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा काठमाडौं बालेन्द्र साह (बालेन) प्रति लक्षित टिप्पणी सार्वजनिक गर्नुभएको छ।

साम्पाङले बालेन झापा क्षेत्र नम्बर–५ बाट निर्वाचन जित्न नसक्ने दाबी गर्दै उहाँ झापाली जनताको दुःख–सुखमा साथ नदिने व्यक्ति भएको आरोप लगाउनुभएको छ। उहाँका अनुसार बालेन अभिजात वर्गको प्रतिनिधि जस्तै देखिनुभएको छ र गाउँघरमा पुगेर जनतासँग घुलमिल नगर्ने प्रवृत्ति देखिएको छ।

अध्यक्ष साम्पाङले झापामा कार्यक्रम आयोजना गर्दा समेत स्थानीयभन्दा बाहिरका मानिसहरू ल्याएर कार्यक्रम गर्नुपरेको टिप्पणी गर्दै यसले स्थानीय स्तरमा जनआधार कमजोर रहेको सङ्केत गर्ने बताउनुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, ‘बालेनले झापा-५ बाट जित्दैन ! झापाली जनताको दुःखमा साथ दिँदैन ! अभिजात वर्गको प्रतिनिधि हो ऊ ! गाउँघरमा आउँदैन ! कार्यक्रम गर्दा पनि बाहिर मान्छे ल्याएर गर्नु परेको छ !’

यसै विषयमा अर्को फेसबुक स्टाटस राख्दै साम्पाङले अझ कडा अभिव्यक्ति दिनुभएको छ। उहाँले लेख्नुभएको छ, ‘भ्रष्ट, ठग र राष्ट्रघातीहरुलाई नै जिताउँछ भने मेरो भन्नु केही छैन !’

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आएका यस्ता टिप्पणीहरूले झापा–५ को राजनीतिक बहसलाई थप चर्काउने देखिएको छ।