जनता टाइम्स

१५ माघ २०८२, बिहीबार १८:३७

एमालेले घोषणापत्र बनाउँदै, विज्ञसँग गर्‍यो छलफल


काठमाडौँ,  माघ १५। नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणापत्रका विषयमा विज्ञसँग सुझाव लिएको छ ।बिहीबार पार्टी कार्यालय च्यासलमा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गरिएको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो ।

छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत् नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको जानकारी गराउनुभयो । सरकारले अहिलेसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको जिकिर अध्यक्ष ओलीको छ । उहाँले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानका विषयमा आत्मसमर्पण स्वीकार्य नहुनेमा जोड दिनुभयो । शाहीका अनुसार एमालेले व्यावहारिक र पाँचवर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्न सक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको छ ।