जनता टाइम्स

१५ माघ २०८२, बिहीबार १९:२५

एमालेले भदौको विध्वंसविरुद्ध उच्च मनोबलका साथ नेतृत्व गर्छः अध्यक्ष ओली


काठमाडौं, माघ १५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते भएको विध्वंसविरुद्ध एमालेले उच्च मनोबलका साथ नेतृत्व गर्ने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तयार भइरहेको घोषणापत्रबारे विज्ञहरूसँग छलफल कार्यक्रममा अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो ।

अध्यक्ष ओलीले घोषणापत्रका प्राथमिकताका विषयमाथि प्रकाश पार्दै नेकपा एमाले सुदृढ संगठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको बताउनुभयो । उहाँले २०७२ को भूकम्पपछि एमालेले पुनर्निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै भूकम्पले पुर्‍याएको भौतिक क्षतिको पुनर्निर्माण उदाहरणीय रूपमा सफल पारेको दाबी गर्नुभयो । ‘एमालेले गत भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार तथा प्रकाशन संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहना पूरा गर्ने गरी घोषणापत्रको तयारी भइरहेको बताउनुभयो । उहाँले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट सम्भव नहुने भन्दै त्यसका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षाको नीति अवलम्बन गरिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले सरकारले हालसम्म पनि निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाउनुभयो । ‘पार्टीले हाल राज्यले गरेका गतिविधि नजिकबाट नियाली रहेको छ । सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले गर्ने वातावरण बनाउन सकेको छैन,’ विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष ओलीले तल्लो निकायसम्म बलियो संगठन भएकोले भदौको विध्वंसपछिको पुनर्निर्माण अभियान पनि एमालेले नै नेतृत्व गर्ने दाबी गर्नुभयो ।

कार्यक्रममा घोषणापत्र निर्माणका विषयमा विज्ञहरूसँग सुझाव संकलन गरिएको जनाइएको छ ।