जनता टाइम्स

१५ माघ २०८२, बिहीबार २१:५६

 विकास भएन भन्ने गलत भाष्य चिर्नुपर्छ : मुख्यमन्त्री चेतनारायण आचार्य 


दाङ, माघ १५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस अवधिमा भएका कामको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताउनुभएको छ ।

घोराही उपमहानगरपालिकाको ४८ औं नगर स्थापना दिवस तथा ‘लैङ्गिक हिंसा नियन्त्रित नगर’ घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवीय, सामाजिक तथा भौतिक विकासका क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको बताउनुभयो । ‘जनताको जीवनस्तर उकास्न धेरै काम भएका छन्, यो सबै साझा प्रयत्न र कुशल नेतृत्वको परिणाम हो,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

घोराहीले मानव विकास सूचकका आधारमा बालमैत्री र साक्षर नगरको घोषणा गरिसकेको उल्लेख गर्दै उहाँले संघीय र प्रदेश सरकारले तोकेका सूचक पूरा गरेर ‘लैङ्गिक हिंसा नियन्त्रित नगर’ घोषणा हुनु सिंगो देश र प्रदेशकै लागि नमुनायोग्य काम भएको बताउनुभयो ।‘अब कुनै पनि घरपरिवारमा लैङ्गिक हिंसा नहुने, गर्न नदिने प्रतिबद्धता सबैले जनाइसक्नुभएको छ,’ उहाँले थप्नुभयो ।

समारोहमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले ‘लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा सम्बन्धी कार्यविधि २०८१’ अनुसार ३२ वटा सूचक पूरा गरी घोषणा गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो एक वर्षमा घोराहीमा जम्मा २२ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् । जनसंख्याको आधारमा यो संख्या ०.०१ प्रतिशत मात्र रहेको जनाइएको छ ।

कार्यक्रम उपप्रमुख हुमा डिसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । नगर प्रवक्ता राममणि पाण्डेले घोषणासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

घोषणामा योगदान पुर्‍याउने सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले संघीय व्यवस्थामा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले समाजलाई सभ्य र समुन्नत बनाउने दिशामा यो महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

उहाँले पूर्वाधार, सामाजिक र आर्थिक विकासमार्फत समाज रूपान्तरणको अभियान अगाडि बढिरहेको उल्लेख गर्दै लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि पनि विशेष अभियान आवश्यक रहेको धारणा राख्नुभयो ।