काठमाडौं, माघ १७ । यो साता लगातार नयाँ रेकर्ड कायम गर्दै बढिरहेको सुनको मूल्य शुक्रबार एकाएक ह्वात्तै घट्यो । नेपाली बजारमा बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भयो । तर दोस्रो दिन शुक्रबार तोलामै २० हजार पाँच सय रुपैयाँले घटेर तीन लाख १८ हजार ८ सयमा झर्यो ।
सुनचाँदीको मूल्यमा यसरी उतार चढाव किन भयो ? आर्थिक क्षेत्रका बिश्लेषकहरु यस प्रक्रियामा नेपाली बजारको मात्रै भूमिका नभई यसको अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्ध हुने बताउँछन ।अन्तर्राष्ट्रिय बजारमा बिहीबारसम्म सुनको भाउ प्रतिऔँस पाँच हजार छ सय डलरसम्म पुगेको थियो । शुक्रबार सो मूल्य घटेर चार हजार ८९५ डलर पुग्यो । यसरी नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको सुनको भाउमा एकाएक भारी गिरावट आएपछि विश्व बजारमा व्यापक चासो बनेको छ ।
विश्लेषकहरूले अमेरिकी डलर ‘बलियो’ भएपछि सुनको मूल्यमा गिरावट आएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ(फेड)को प्रमुखमा केभिन वार्सलाई मनोनयन गरेपछि फेडको राजनीतिक स्वतन्त्रता सम्बन्धी चिन्ता घटाएकाले डलर बलियो हुनपुगेको अनुमान विश्लेषकहरूको छ ।
यसअघि ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि एक वर्षमा डलर सूचकांक १० प्रतिशतले घटेको थियो । यही कारण पनि सुनको मूल्य बढ्नमा भूमिका खेलेको विज्ञहरूको निचोड छ । ट्रम्पको आगमनपछि बढेका भूराजनीतिक तनाव, आर्थिक अनिश्चितता लगायतका कारण लगानीकर्ताको ध्यान डलरबाट टाढिँदै सुन तथा धातुतर्फ तानिएको थियो ।
सुन लामो समयसम्म सुरक्षित राख्न सकिने सम्पत्ति भएकाले अनिश्चितता बढ्दा लगानीकर्ता त्यसको संग्रहतिर लाग्ने गर्छन् । बिहीबारसम्मका १२ महिनामा सुनको मूल्य झण्डै ९० प्रतिशतले बढेको थियो । अहिले फेडको नेतृत्वमा वार्स मनोनयन भएपछि एकैदिन शुक्रबार अमेरिकी डलर सूचकांक ०.९ प्रतिशतले बढेको छ । डलर मजबुत हुनथालेपछि लगानीकर्ताको ध्यान त्यतातर्फ पनि तानिन थालेको अनुमान गरिएको छ ।
केही वैश्विक आर्थिक र भूराजनीतिक जोखिमहरू सन् २०२६ को अन्तसम्म कम हुनसक्ने सम्भावना देखिएको छ । जसले सुनको भाउ कम हुनसक्ने अनुमान छ । बिश्वबजारमा देखिने उतार चढाव नै नेपाली बजारमा पनि उतार चढावको कारण रहेको छ ।













प्रतिक्रिया दिनुहोस्