जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १२:२२

टी२० क्रिकेट : भुटानमाथि नेपालको शानदार जित


काठमाडौं, मंसिर १९

१३‌ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा कमजोर भुटानविरुद्ध नेपालले १४१ रनको जित निकालेको छ । नेपालले दिएको २३७ रनको रनको विशाल लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन बनाउन सक्यो ।

भुटानविरुद्धको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको थियो । कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको छ ।

यसअघि नेपालको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध गएको जुलाईमा बनाएको १७३ रन थियो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मल्लले ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो । यसअघि पारस खड्काले सिङ्गापुरविरुद्ध बनाएको नटआउट एक सय रन नेपाली खेलाडीको एक मात्र शतक र उच्च स्कोर रहेको थियो ।

खड्काले राजीनामा दिएपछि कप्तान बनाइएका मल्लले राम्रो ब्याटिङ गर्न सकेका थिएनन् । तर कीर्तिपुर मैदानमा कमजोर भुटानसँग मल्लले सानदार ब्याटिङ गरे । मल्लसँगै आएका प्रारम्भिक ब्याट्स्म्यान खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए । यो खड्काको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट चौथो अर्धशतक हो ।

खड्का आउट भएपछि मल्लले आक्रमण ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरे । उनले १७.४ ओभरमा ५३ बलमा शतक बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४५ रन बनाए । यस्तै रोहित पौडेल ६ रनमा आउट हुँदा आरिफ शेख ४ रनमा अविजित रहे ।

भुटानलाई सस्तैमा समेट्ने क्रममा पारस खड्काले दुई तथा करन केसी, ललित राजवंशी र पवन सर्राफले एक एक विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो ।