जनता टाइम्स

२४ माघ २०८२, शनिबार १५:३७

बालेनको आक्षेपमा पाँच महिनापछि राधिका शाक्यको कडा प्रतिवाद : आममातृत्वमाथिको बज्रप्रहार गरेको ठहर


काठमाडौं, माघ २४। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पत्नी समाजसेवी राधिका शाक्यले काठमाडौं महानगरपालिकाबाट पूर्वमेयर बालेन साहले आफ्नो पवित्र कोखमाथि गम्भीर प्रश्न उठाएको भन्दै कडा आक्रोश पोख्नुभएको छ ।

आफूराजनीतिमा संलग्न नभएपनि बालेनले भदौ २३ र २४ गतेको घटनालाई लिएर सामाजिक सञ्जालमा ब्यक्त गरेको बिचारले आफ्नो कोखकै अपमान गरेको शाक्यले बताउनु भएको हो । अनलाइन खवरमा लामो लेखमार्फत शाक्यले त्यस दिनको बिषयमा सबिस्तार चर्चा गर्दै बालेन साहले प्रधानमन्त्रीको बिरुद्ध लेखेको भनेपनि सो कुरा राजनीतिक नभएर आफ्नो कोखमाथि निकृष्ट शैलीमा प्रश्न उठाएको बताउनु भएको छ ।

भदौ २३ मा १९ जनाको ज्यान गएको घटनाले आफू निकै दुःखी बनेको बेला आफूलाई नयाँ र युवाको मसिहा ठानेर बालेनले राजनीतिक स्वार्थका लागि आफूमाथि मानवीय आक्रमण गरेको शाक्यले लेखमार्फत खुलाउनु भएको छ । शाक्यले भदौ २३ को घटनाको बिषयमा आफूले बालुवाटारमा देखेको कुरा उल्लेख गर्ने क्रममा भन्नुभएको छ, ‘ त्यो खासमा प्रधानमन्त्री विरुद्धको कुनै राजनीतिक स्टेटमेन्ट थिएन, त्यो मेरो पवित्र कोखमाथि उठाइएको गम्भीर प्रश्न थियो ।’

यस्तो छ शाक्यको भनाई

त्यही रात, आफू नयाँ युगको मसिहा र आफूलाई सर्वज्ञाता ठान्ने एक जना जनप्रतिनिधिले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई लक्षित गर्दै एउटा उत्तेजक स्टाटस लेखेका थिए, ‘साँच्चै नै बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस् ।’ अपमानजनक र दुर्वाच्य वाक्यशैली प्रयोग गरेर उनले नियतवस् प्रहार गरेको त्यो वाक्य शब्दहरूको समूह मात्र थिएन । तत्कालको तरल परिस्थितिलाई थप उत्तेजक बनाउन र जनमानस भड्काउनका लागि प्रक्षेपण गरिएको शब्दबम थियो त्यो-जुन सामाजिक सञ्जालद्वारा बर्साइएको थियो ।

सन्तानप्रतिको मायाममता महसुसै नहुने गरी हाम्रा मनमा कुनै अहंकारको अङ्कुरण कहिल्यै भएको छैन र हाम्रो विवेकमा न बादल लागेको छ न बुद्धिमा बिर्को । यो शब्दक्षेप्यास्त्र हाम्रा संवेदना, मानवता र करुणामाथिको सबैभन्दा चर्को आक्रमण थियो र सत्यविरुद्ध घिनलाग्दो सङ्गिन आरोप पनि । म झन् मर्माहत भएँ ।

उनले कलिला नानीबाबुहरूको रगतको आहालमा पौडी खेलेर कसैको सन्तान उत्पादनसँग सम्बन्धित जैविक क्षमतामाथि प्रहार गरेका थिए । त्यो खासमा प्रधानमन्त्री विरुद्धको कुनै राजनीतिक स्टेटमेन्ट थिएन, त्यो मेरो पवित्र कोखमाथि उठाइएको गम्भीर प्रश्न थियो ।

मेरो मात्र होइन, सन्तान हुन नसकेका आममहिलाका जननीत्वमाथिको प्रहार, उपहास र अपमान थियो । तिनको शब्दमा प्रधानमन्त्रीको पदउपरको डाह र आक्रोश थिएन त्यो त नारी आममातृत्वमाथिको बज्रप्रहार थियो । एक नारीमाथिको यस्तो प्रहारले हृदय कति छियाछिया बनाउँदो रहेछ त्यसदिन मैले अनुभुत गरेँ ।

हो, मेरो कोखबाट बच्चा जन्मिएका छैनन् तर छोराछोरीको माया, बालबालिकाप्रतिको स्नेह र मान्छेप्रतिको प्रेमको भण्डार हामीमा कति फराकिलो छ भन्ने कुरा धेरैलाई थाहा छ । सन्तानप्रतिको मायाममता महसुसै नहुने गरी हाम्रा मनमा कुनै अहंकारको अङ्कुरण कहिल्यै भएको छैन र हाम्रो विवेकमा न बादल लागेको छ न बुद्धिमा बिर्को । यो शब्दक्षेप्यास्त्र हाम्रा संवेदना, मानवता र करुणामाथिको सबैभन्दा चर्को आक्रमण थियो र सत्यविरुद्ध घिनलाग्दो सङ्गिन आरोप पनि । म झन् मर्माहत भएँ । त्यो रात न आँसु रोक्न सकेँ, न कुनै मेसो पाउन सकेँ ।