काठमाडौं, माघ २४ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते ध्वस्त बनाइएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिबार (आज) बाट पुनः सञ्चालनमा आएको हो ।
पुनः सञ्चालनमा आएको सो भाटभटेनीको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो बिध्वंसकारी कार्य नहोस् भनी भगवानसँग प्रार्थना गर्नुभएको छ ।
‘हे भगवान ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् । र आम नेपाली जनतालाई के भन्छु भने अब नेपाल राम्रो होस । राम्रो हुनैपर्छ । नेपालमा जुन दुर्घटना भयो । त्यो घटनाको ठूलो भार, शिकार भाटभटेनीले भोग्नु पर्यो । त्यो भागेपनि भाटभटेनीले हिम्मत राखेको छ–जिरो भएको एउटा भाटभटेनी उठयो,’ प्रबन्ध निर्देशक गुरुङले भन्नुभयो ।
प्रबन्ध निर्देशक गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुनः सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । ‘अब क्रमशः सबै चाँडै उठ्नेछ । भाटभेटनी मात्रै होइन, नेपाल नै उठ्छ । नेपालीले आफ्नै सृजना गर्छ, हामीसँग हिम्मत छ, क्षमता छ,’ गुरुङले भन्नुभयो । जेनजी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम गरेको घटना निकै दुःखद् भएपनि आफू त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको पनि गुरुङले प्रष्ट पार्नुभयो ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पतीको रुपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा अर्बौंको क्षति भएको थियो ।नेपालमै हजारौंलाई रोजगारी दिनुभएका ब्यवसायी गुरुङलाई निसाना बनाएरै जेनजी आन्दोलनमा जताततै भाटभटेनीमा बिध्वंस मच्चाइएको थियो ।



















प्रतिक्रिया दिनुहोस्