पर्सा, माघ २६ । वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् ।
आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सवारीसाधन तोडफोड भएको छ । सशस्त्र प्रहरीका अनुसार आज बिहान करिब १०ः३० बजे विशेष सूचनाको आधारमा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भन्सार छली लुकाई-छिपाई राखिएको सामान छापामारी गर्न संयुक्त टोली परिचालन गरिएको थियो ।
एपीएफ सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जका डीएसपी विकास अधिकारीको कमाण्डमा १० जना, गण हे।क्वा। पर्साबाट इन्स्पेक्टर सापकोटाको कमाण्डमा ९ जना साथै वीरगञ्ज भन्सार कार्यालयका तथ्यांक अधिकृत भागीरथ रौनियारको कमाण्डमा २ जनाको संयुक्त टोली परिचालित थियो ।
सामान लोड गर्ने क्रममा स्थानीय २०–२५ जनाको समूहले अचानक ढुंगामुढासहित आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले जनाएको छ । ढुंगामुढाबाट बागमती प्रदेश एफ ए ए ०१२५ नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ । एपीएफको स्कार्पियोमा पनि क्षति पुगेको छ ।
स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी वरिष्ठ सिपाही महमद मुस्ताक अलीको बायाँ हातमा चोट लागेको र उाँको मोबाइल फोन खोसेर लगिएको, सशस्त्र प्रहरी हवल्दार जितेन्द्र प्रसाद सहनीको बायाँ गोडामा सामान्य चोट लागेको तथा नं. १३ गण पर्सामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र पासवानको टाउकोमा सामान्य चोट लागेको छ ।
संयुक्त टोलीले करिब ५ लाख मूल्य बराबरका भन्सार छलीका ५ पोका कपडा बरामद गरेको छ । बरामद सामग्री भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्