काठमाडौं, मंसिर २०
गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई ३७ औं स्वर्ण पदक जिताएका छन् । पुरुष ५ हजार मिटर दौडमा उनले स्वर्ण पदक जितेका छन् । नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए ।
गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए । सुनिलले १४ मिनेट ५५.२१ सेकेन्डमा दुरी पुरा गरे । नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते ।
दौडका दौरान अधिकांश समय शीर्ष तीनमै रहेका गोपीले अन्तिम १ सय मिटरमा मात्र अग्रता लिएका थिए । भारतका सुनिलले अन्तिम २ सय मिटर बाँकी रहँदा तीव्र गति लिंदै एक समय झन्डै २० मिटरको अग्रता बनाएका थिए । तर गोपीले आफ्नो गति बढाउँदै अन्तिम १ सय मिटर बाँकी रहँदा अग्रता लिन सफल रहे ।
प्रतिक्रिया दिनुहोस्