जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १६:४२

साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन ट्राफिक अनुरोध


काठमाडौं, मंसिर २० । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ । शनिबार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

म्याराथन दौड शनिबार बिहान ७ः०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

उक्त दौडको समयमा सडकमा अत्यावश्यकबाहेकका सवारी नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । यस्तै महाशाखाले शनिबार बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

महाशाखाका प्रमुख ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गर्नुभयो ।