जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १७:२३

देखिन थाल्यो ओली सरकारको कामको परिणाम : आर्थिक बृद्धिदर उच्च हुने दश मुलुकको सूचीमा नेपाल


काठमाडौं, मंसिर २० । नेपाल आर्थिक बृद्धिदर उच्च हुने दश मुलुकको सूचीमा परेको छ । बेलायती म्यागजिन द इकानोमिस्टले आर्थिक वृद्धिदर उच्च हुने शीर्ष दस मुलुकको सूचीमा नेपाललाई राखेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार तयार पारेपछि नेपाल यो अवस्थामा पुगेको हो । आगामी वर्ष सन २०२० को आर्थिक वृद्धि प्रक्षेपण गर्ने क्रममा सो पत्रिकाले नेपाललाई आठौं मुलुकको सूचीमा राखेको हो । सो पत्रिकाका अनुसार उक्त अवधिमा नेपालका आर्थिक बृद्धिदर ६.९ प्रतिशत हुने अनुमानसहित आठौं स्थानमा राखेको हो ।

यो सूचीमा दक्षिण एसियाबाट बंगलादेश, भुटान र म्यानमार नेपालभन्दा अगाडि रहेका छन । सो पत्रिकाले बंगलादेशलाई तेस्रो, भुटानलाई छैटौं स्थानमा राखेको छ । ती मुलुकको वृद्धिदर क्रमशः ७.७ प्रतिशत र ७.३ प्रतिशत हुने अनुमान गरिएको छ । यस्तै म्यान्मार (७.३ प्रतिशतको वृद्धिदरसहित) नेपालभन्दा अघि छ भने भारत नेपालभन्दा पछि १० औं स्थानमा छ ।

इकोनोमिस्ट इन्टेलिजेन्सले गरेको यो सर्वेक्षणमा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको शीर्ष दसमा सानो द्वीप राष्ट्र आइभरी कोस्ट (नवौं) बाहेक एसिया र अफ्रिकाकी मुलुक मात्र छन । आगामी वर्षको वृद्धिदर ३५ प्रतिशत हुने अनुमान गरिएको गायना पहिलो स्थानमा छ । गृहयुद्धले क्षतिग्रस्त बनेको मध्यपूर्वको सिरिया दोस्रो स्थानमा छ । उसको वृद्धिदर ८.९ प्रतिशत हुने अनुमान गरिएको छ । अफ्रिकी मुलुक रुवान्डा चौथो र इथियोपिया पाँचौं स्थानमा रहेका छन ।

चीनको अर्थतन्त्र भीमकाय हुँदै गएकाले आर्थिक वृद्धि पहिलेकै जस्तो हुन नसक्ने टिप्पणी सो पत्रिकाले गरेको छ । जसअनुसार आगामी एक वा दुई वर्ष चीनको वृद्धदर ६ प्रतिशत हुनेछ । सन् २००४ देखि तीव्र आर्थिक वृद्धि गरिरहेको बंगलादेशले यसबीचमा अर्थतन्त्रको आकार तेब्बर बनाएको छ । कुल राष्ट्रिय खुसी नाम दिएर अर्थतन्त्रलाई मापन गर्दै आएको भुटान आर्थिक वृद्धिको परम्परागत मापनमा पनि चम्किइरहने इकानोमिस्टको निश्कर्ष छ । नेपाल र आइभोरिकोस्टको वृद्धिलाई उसले प्रशंसा गरेको छ । इकोनोमिस्टले सातै महादेशका १०७ मुलुकको सर्वेक्षण गरी यो सूची प्रकाशित गरेको हो ।

यस अवधिमा पश्चिम युरोपले १.४ प्रतिशत, पूर्वी युरोपले २.४ प्रतिशत, उत्तर अमेरिकाले १.६ प्रतिशत, दक्षिण अमेरिकाले १.२ प्रतिशत, अफ्रिकाले २.५ प्रतिशत औसत वृद्धिदर हासिल गर्ने उस्को अनुमान छ । एसियाको वृद्धिदर सबैभन्दा उच्च ५.२ प्रतिशत रहनेछ । विकसित मुलुकहरूमध्ये जापानको वृद्धिदर ० दशमलव ४ प्रतिशत हुनेछ । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानडाको वृद्धिदर २ प्रतिशतभन्दा कम हुनेछ । यस अवधिमा २०१९ को तुलनामा अधिकांश मुलुकमा ब्याजदर घट्ने र ज्यालादर बढ्ने प्रक्षेपण पनि सो पत्रिकाले गरेको छ ।