जनता टाइम्स

८ फाल्गुन २०८२, शुक्रबार १९:४९

विष्णु पौडेलले राखे जिल्लाकै बिकाशको स्पष्ट खाका : रूपन्देही राष्ट्रिय अर्थतन्त्रको केन्द्र


रुपन्देही, फागुन ८ । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले रुपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको गतिशील केन्द्र र विकासको अग्रणी जिल्लाका रुपमा विकाश गर्ने उदघोषसहित २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष पौडेलले शुक्रवार यस्तो घोषणासहित पतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । बुटवलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पौडेलले यसअघि निर्वाचित हुँदा आफूले रुपन्देहीलाई आधुनिक विकास र पूर्वाधारले सम्पन्न नमूना जिल्ला बनाउने सोच राखेर धेरै योजना कार्यान्वयन गरी देशकै नमुना बनाउन सफल भएको बताउँदै आगामी दिनमा रुपन्देहीको विकासलाई थप उचाइमा पुर्याउने घोषणा गर्नुभयो ।

प्रतिबद्धतापत्रमा उहाँले रोजगारमूलक शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारी, राष्ट्रिय सडकहरुको स्तरोन्नति, शहरी पुर्वाधार विकास, भूमि समस्याको समाधान, मोतिपुर औद्योगिक क्षेत्र र तिनाउमा सिग्नेचर पुल, रुपन्देहीलाई लगानीको केन्द्र बनाउने, बुटवललाई रोजगारीको हब बनाउने, लुम्बिनी गुरुयोजना पूरा गर्ने लगायत २० क्षेत्रलाई प्राथमिकताको सूचीमा राख्नुभएको छ ।

यस्तै आन्तरिक स्रोत र अन्तर्राष्ट्रिय सहयोगसमेतको आधारमा बुटवल, तिलोत्तमा, सैनामैनासहित बृहत् लुम्बिनी क्षेत्रमा आधुनिक सहरी पूर्वाधार विकास गर्न ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट (ग्ल्याड) प्रोग्राम सञ्चालन गर्ने र क्षेत्र नं २ का पालिकाहरूलाई छिमेकी पालिकासँग जोडेर महानगरीय ढाँचामा सहरी पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता पनि पौडेलले गर्नुभएको छ ।

यसैगरी हाल बसोबास तथा भोगचलन भइरहेको क्षेत्रलाई छुट्याएर मोतीपुर औद्योगिक क्षेत्रको पुनः रेखाङ्कन गर्ने र रेखाङ्कनपछि कायम भएको औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण र उद्योग स्थापना, बुटवल औद्योगिक क्षेत्रको क्षमता विस्तार र व्यवस्थापन सुधार, बुटवल धागो कारखानालाई सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुरूप आधुनिक प्रविधिसहित सञ्चालनमा ल्याउने योजना अघि सार्नुभएको छ भने गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन र दोस्रो चरणको काम अघि बढाउने प्रतिवद्धता उहाँले गर्नुभएको छ ।

यस्तै कालीगण्डकी–तिनाउ नदी डाइभर्सन, तल्लो सिद्धबाबादेखि हुलाकी सडकसम्म तिनाउ तथा दानव नदीको दुवै किनारामा पक्की पर्खाल निर्माण गरी वस्ती संरक्षण, सोह्र छत्तिस र चार तपाह सिँचाइ प्रणालीका बाँकी काम पूरा गर्ने बाचा पनि गर्नुभएको छ । पौडेलले शिक्षालाई पहिलो प्राथमिकता दिंदै बजारको मागअनुसार अनुसन्धानमा आधारित र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिवद्धतासमेत जनाउनु भएको छ ।

यस्तै विद्यालय शिक्षा र उच्च शिक्षाका लागि अन्यत्र जान नपर्ने गरी गुणस्तरीय र विश्वसनीय शिक्षाको केन्द्र बनाउन भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति व्यवस्थापन गर्ने प्रतिवद्धता गर्नुभएको छ । यसैगरी लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी र विदेशी विद्यार्थीहरूका लागि आकर्षक शिक्षण संस्थामा विकसित गर्ने, रुपन्देही २ मा आउन चाहेको नेपाल विश्वविद्यालयलाई आवश्यक सहयोग र सहजीकरण गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन र सूचना प्रविधि विषयको मानित विश्वविद्यालयमा रूपान्तरण गर्ने, तिलोत्तमामा बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरी सञ्चालनमा ल्याउने उदघोष प्रतिबद्धता पत्रमा गरिएको छ ।

पौडेलले स्वास्थ्यतर्फ रूपन्देहीका नागरिकलाई उपचारको खोजीमा राजधानी वा अन्यत्र जान नपर्ने गरी गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन निर्माणाधीन १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार सम्पन्न गरी आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने, पालिका अस्पतालहरुमा आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने,लुम्बिनी आयुर्वेदिक चिकित्सालय तथा सैनामैना प्राकृतिक चिकित्सालयलाई शिक्षण तथा उपचार केन्द्रका रूपमा विकास गर्ने, सैनामैनामा प्रस्तावित ट्रमा सेन्टर बनाउने, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल, लायन्स आँखा अस्पताललगायत सामुदायिक स्वास्थ्य संस्थाको पूर्वाधार विकास र स्तरवृद्धि गर्ने, निशुल्क रक्त सञ्चार सेवा प्रदान गर्न व्यवस्था मिलाउने, स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ ।

सूचना प्रविधि क्षेत्रमा कार्यरत एवं सूचना प्रविधि अध्ययन गरेका विशेषज्ञ युवाहरूलाई लक्षित गरी सूचना प्रविधिमा आधारित सफ्टवेयर विकास, डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्युटिङ, भर्चुअल रियालिटी जस्ता उद्योगहरू सञ्चालन गर्नका लागि सहुलियत कर्जा, सूचना प्रविधि सेवा निर्यात गरी हुने आयमा कर छुटको व्यवस्था गर्ने, बुटवल क्षेत्रलाई डिजिटल सेवा, सफ्टवेयर विकास, आउट सोर्सिङ र सूचना प्रविधिमा आधारित रोजगारीको क्षेत्रीय केन्द्रमा विकास गर्ने पौडेलको बाचा छ ।

यसैगरी बेरोजगार जनशक्तिका लागि स्वरोजगारी, रोजगारी र आयआर्जनका लागि तालिम बिउ पुँजी, विशेषज्ञहरूद्वारा निःशुल्क परामर्श सेवा र सहुलियत कर्जाको व्यवस्था गर्ने,युवाहरूको नवीन सोँचलाई उद्यममा बदल्न स्टार्टअप सिड फन्डको व्यवस्था, ‘पढ्दै काम गर्दै’ को नीतिअनुरूप अध्ययनरत विद्यार्थीहरूलाई उत्पादनशील उद्योग र व्यावसायिक प्रतिष्ठानहरूसँग जोड्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर परियोजनामा आधारित सहुलियत कर्जा उपलब्ध गराउने,बुटवल क्षेत्रलाई प्राविधिक शिक्षा, सिप र रोजगारीको हबमा विकास गर्ने प्रतिवद्धता गरिएको छ ।

पूर्वअर्थमन्त्री पौडेलले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रूत मार्गमा स्तरोन्नति गर्ने,सिद्धबाबामा निर्माणाधीन रकसेड सहितको सुरुङ मार्ग सम्पन्न गरी सञ्चालनमा ल्याउने,बुटवल–गोरुसिङ्गे राजमार्ग र बुटवल-नारायणघाट राजमार्गको स्तरोन्नति कार्य सम्पन्न गर्ने, पूर्वपश्चिम राजमार्गको बुटवल स्थित तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्ने, राजमार्ग चौराहा–गोलपार्क सडकको स्तरोन्नति सम्पन्न गर्ने, बेलबास-बेथरी सडकको बाँकी काम सम्पन्न गर्ने र नहरपुरदेखि मैनाबगर र जितगढी पुलसम्म विस्तार र सैनामैना चव्रmपथको बाँकी काम सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ ।

हालको बसोबास क्षेत्र सुरक्षित रहने गरी डिजाइन परिमार्जन गर्ने र तिनाउ–दानव नदी कोरिडोर सडक निर्माण कार्य अघि बढाउने, सैनामैनाको मेजर रोडअन्तर्गत पर्ने सडकहरूको निर्माण कार्य सम्पन्न गर्ने, पूर्वपश्चिम राजमार्गदेखि सैनामैना चक्रपथ जोड्ने एक दर्जन लिङ्क रोडहरू निर्माण गर्ने, योगीकुटीदेखि बुटवल मेडिकल कलेजसम्म जोड्ने सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति, योगीकुटी शान्तिचोक–डिङ्गरनगर–गोरकट्टा–पश्चिम पहुनी सडकको स्तरोन्नति, ड्राइभर टोलबाट शिवपुर र पश्चिममा ड्राइभर टोलबाट पडसरीसम्मको सडक स्तरोन्नति गर्ने पौडेलले प्रतिवद्धता रहेको छ ।

यस्तै बुटवल– १०, रामनगर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थलका बाँकी काम सम्पन्न गरी सञ्चालन गर्ने, क्षेत्र नं २ का पालिकाहरूलाई छिमेकी पालिकासँग जोडेर महानगरीय ढाँचामा सहरी पूर्वाधार निर्माण गर्ने,अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपि) को निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने, ठूला उद्योगका लागि लगानी मैत्री वातावरण तथा साना र मझौला उद्योगका लागि प्रोत्साहन एवम् संरक्षणको नीति अवलम्बन गर्ने, कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यका साथ मेघा परियोजनाका रूपमा प्रस्तावित सेमलार कृषि उपज थोक बजारको निर्माण कार्य सम्पन्न गर्ने पौडेलको प्रतिबद्धतामा उल्लेख छ ।

यस्तै कृषि उपजमा आधारित स्थानीय हाटबजारहरूको पूर्वाधार निर्माणसहित स्तरोन्नति, बुटवलमा निर्माण सम्पन्न भएर पनि सञ्चालन हुन नसकेको पशु बधशाला सञ्चालन, लक्ष्मीनगरसहित चुरे क्षेत्रको पहिरो नियन्त्रण,सैनामैना लामी रह बहुउद्देश्यीय बाँध निर्माण गरी सिँचाइ, पर्यापर्यटन र जमिनमा पानीको पुनर्भरणको व्यवस्था, लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, तिलौराकोट, लुम्बिनी, रामग्राम, देवदह, सैनामैनालगायत बुटवलदेखि बेलहियासम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी बृहत् लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटन केन्द्रमा विकास गर्ने प्रतिबद्धता गरिएको छ ।

यस्तै जितगढी किल्ला संरक्षण र प्रवर्धनका साथै मणिमुकुन्द सेनको शीतकालीन दरबारको संरक्षण र पुनर्निर्माण, पुरानो बुटवल (हालको वडा न. १ र २) लाई सम्पदा क्षेत्रका रूपमा संरक्षण र विकास, बोलबम धाम, सिद्धबाबा धाम, शैलपुत्री शक्तिपीठ, नीलकण्ठ बाबा धाम, मुक्तिनाथ धाम, मोक्षधाम, ब्रह्मकुमारी राजयोग केन्द्र लगायतको विकास र स्तरोन्नति, जनजाति सङ्ग्रहालय निर्माण र थारु होमस्टेमा पूर्वाधार विस्तार, सम्भाव्यताका आधारमा तिनाउ नदीमा जलाशय तथा नौका विहारका लागि आवश्यक पूर्वाधार निर्माण, भूमि समस्या समाधान आयोगले सुरु गरेको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी क्षेत्रको नापचाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण, कोदाले, बिटौरे, गाउँ ब्लक, सहरी ब्लक, आँकडा, वालबुर्जा, गुठीलगायत भूमिसम्बन्धी सबै प्रकारका समस्याको समाधान र सार्वजनिक जग्गाको संरक्षण गर्ने योजना अघि सार्नुभएको छ ।

रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गरी स्पोर्टस हव बनाउने, उजीरसिंह रङ्गशाला निर्माण, एन्फा फुटबल एकेडेमीमा प्यारापिट निर्माण र बत्ती जडान, सैनामैनामा निर्माणाधीन फोहोरमैला सङ्कलन तथा प्रशोधन केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने, बुटवल, तिलोत्तमा र सैनामैनालाई सफा सहरमा रूपान्तरण गर्ने, आगामी ५० वर्षको विद्युत्को माग धान्ने गरी आपूर्ति सुनिश्चित गर्न कर्साघाटमा उच्च क्षमताको १३२÷३३ केभी सब स्टेशन निर्माण गर्ने अठोट पनि पौडेलको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

रूपन्देहीलाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न मोतीपुर औद्योगिक क्षेत्रभित्र सूचना प्रविधि केन्द्र स्थापना गर्ने, श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नियमित जनसुनवाइ गर्ने, निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र प्रगति प्रतिवेदन सार्वजनिक गर्ने, विकासका आयोजना र कायक्रमहरूको छनोट र कार्यान्वयनमा जनसहभागिता र जननिगरानी बढाउने समेत योजना समावश छन ।

यसैगरी पौडेलले सरकारी कार्यालयबाट छरितो, प्रभावकारी र पारदर्शी सेवाप्रवाहका लागि आवश्यक ऐन, कानून निर्माण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिवद्धता गर्नुभएको छ । प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवारको उमेर नभई उनीहरुका सोँच, भिजन, विगतमा गरेका कामहरु हेरेर मूल्याङकन गर्न मतदातालाई आग्रह गर्नुभयो ।

आफूले आफ्नो क्षेत्रमात्र नभई सिंगो रुपन्देहीलाई आधुनिक र विकसित बनाउन सधैं नयाँ सोँच र नयाँ योजना ल्याउने गरेको र अझै पनि आफूले नयाँ सोँच र योजना ल्याएर कार्यान्वयन गर्न सक्षम भएको विगतका कामहरुले पुष्टी गरेको तथ्यसमेत उहाँले सुनाउनु भयो । कार्यक्रममा उहाँले काम गर्ने र भिजन भएको ब्यक्ति रोज्दा आफू एक नम्बरमा नै रहेको तथ्य बिगतको कामको आधारमा प्रस्तुत गर्नुभएको थियो ।