जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार ०७:२३

यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो – मन्त्री बाँस्कोटा


काठमाडौं, मंसिर २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरुको भएको बताउनुभएको छ । उहाँले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’ हरुको नभएको जिकिर गर्नुभयो ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उहाँले वर्तमान सरकार देशभक्त, न्यायप्रेमी जनताको सरकार भएको बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामी कसैको एक इञ्च पनि जमीन मिच्न जाँदैनौँ, हाम्रो धर्तीको जमीन पनि कसैलाई दिँदैनौँ, बुझाउँदैनौँ, यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो ।” सरकारले कसैलाई अन्यायपूर्ण व्यवहार नगर्ने बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपालीलाई कसैले अपमान र धक्का पुग्ने काम गर्छ भने सहने छैनौँ ।” उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा अघि बढ्न राष्ट्रिय सहमति प्राप्त भइसकेकाले कूटनीतिक र राजनीतिक प्रयासलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सुस्ताको विषय पनि बाँकी रहेकाले सरकारले क्रमैसँग कूटनीतिक र राजनीतिक प्रयास जारी राख्ने दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “सुस्ताको विषय पनि बाँकी नै छ, यी समस्या समाधान गर्न समय लाग्छ ।” कालापानी, लिपुलेक र लिम्पियाधुराका देखिएका समस्याको समाधान कूटनीतिक र राजनैतिक तवरबाट हुने उहाँले प्रष्ट पार्नुभयो । उहाँले जनताको चिन्ता र चासोप्रति सरकारको एक्यबद्धता रहेको बताउनुभयो ।

“हाम्रो देश कसैको उपनिवेश भएन, नेपाल कसैसँग हारेन र कसैको दास बनेन”, उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले शुक्रवारनै एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थलीमा नवनिर्मित अरुणोदय माध्यमिक विद्यालयको भवन उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले वर्तमान सरकारको प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार शिक्षा र स्वास्थ्यमा नीतिगत परिवर्तनको प्रयासमा छ, यसपछि सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुँदै जानेछ ।” उत्पादन प्रणालीलाई शिक्षासँग जोड्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरलगायतले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा स्थानीयको तहको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभएको थियो ।