जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार ०७:४०

काठमाडौंका मुख्य सडकमा गाडी नचलाउन आग्रह (कहाँ काहाँ चलाउन पाईदैन सूचिसहित)


काठमाडौं, मंसिर  २१। काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३औं दक्षिण एसियाली खेलकूद (साग)अन्तर्गत आज शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेक सवारीसाधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ।

शनिबार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेक सवारी नचलाउन महाशाखाले सूचना जारी गरी अनुरोध गरेको हो।

म्याराथन दौड शनिबार बिहान ७ः०० बजे दशरथ रंगशालाबाट सुरु भई टेकु, कालिमाटी, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः फर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रंगशालामा पुगेर समापन हुनेछ।

उक्त दौडको समयमा सडकमा अत्यावश्यकबाहेक सवारीसाधन नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।