जनता टाइम्स

१२ फाल्गुन २०८२, मंगलवार १०:४७

सरकार र एन्फा मौन, साम्बाको उपचारका लागि कांग्रेसद्वारा ५ लाख सहयोग घोषणा


काठमाडौं, फागुन १२। नेपाल सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) मौन रहेका बेला नेपाली कांग्रेसले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत साम्बाको उपचार कोषमा पार्टीका तर्फबाट उक्त रकम सहयोग गरिने जानकारी दिनुभएको हो। उहाँले देशका लागि योगदान पुर्‍याउँदै आउनुभएकी खेलाडीको उपचारमा साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्नुभएको छ।

साम्बाले भने एन्फा र सरकारले आफ्नो उपचारबारे कुनै पहल नगरेको गुनासो गर्दै सोमबार सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गर्नुभएको थियो। उहाँले उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको उल्लेख गर्नुभएको छ।

यसैबीच काठमाडौं मेडिकल कलेज (केएमसी)ले साम्बाले नेपालमै उपचार गर्न चाहेमा निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ। कलेज प्रशासनले आवश्यक सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

साम्बाकाे यस अघिकाे घुँडाकाे चोट फेरि बल्झिएकाे छ । यस अघि पनि उहाँकाे घुडाकाे लिगामेन्टमा समस्या आएकाे थियाे ।

देशको प्रतिष्ठासँग जोडिएकी राष्ट्रिय टोलीकी कप्तानको उपचारका विषयमा सरकारी निकाय र सम्बन्धित खेल संस्थाको औपचारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।