जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार १३:०३

निजगढ विमानस्थलबारे सर्वोच्चको आदेशप्रति पर्यटन मन्त्री योगेश भट्टराईको आयो कडा टिप्पणी


काठमाडौं, मंसिर २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलको बिषयमा कडा प्रतिक्रिया दिनुभएको छ । राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएको निजगढ बिमानस्थलको निर्माण कार्य रोक्न सर्वाेच्चले आदेश दिएपछि पर्यटनमन्त्री भट्टराईले कडा टिप्पणी गर्नुभएको हो ।

मन्त्री भट्टराईले सर्वाेच्च अदालतले अनुमती मिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार रहेको बताउनु भयो । ‘यो आयोजना राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएका कारण आफैं बहसमा जान तयार रहेको मन्त्री भट्टराईको भनाई छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणबारे बाहिर फैलाइएका अफवाह हटाउनु आवश्यक रहेको बताउनु भयो ।

‘राज्यका कुनै पनि निकाय निजगढ बिमानस्थलको आयोजनामा अवरोधक बन्दैनन, तर, सर्वोच्च त्यसमा क्लियर हुन खोजेको छ, उसलाई स्पस्ट बनाउनु सरकारको दायित्व हो,’ मन्त्री भट्टराईले भन्नुभयो । सर्वोच्चले आयोजना नबनाऊ नभनेको भन्दै छलफलमा बोलाउँदैमा आयोजनाको पूर्वतयारीका काम नरोकिने मन्त्री भट्टराईको भनाई छ ।

‘हामी फिल्डमा पो जानु भएन, कागजी कामको तयारीमा त काम गर्न सक्छौं नि,’ पर्यटनमन्त्री भट्टराईले भन्नुभयो । यस आयोजनामा काट्ने रुखको संख्या, वातावरण बिनासमा अनावश्यक डाटा बाहिर ल्याएर अफवाह फैलाइएको भन्दै उहाँले नागरिक उड्डयन क्षेत्रका बिज्ञले अफवाह चिर्ने गरी अभियान थाल्नुपर्ने आवश्यकता औल्याउनु भयो ।