जनता टाइम्स

१७ फाल्गुन २०८२, आईतवार २१:२९

इरानी आक्रमणमा युएईमा एक नेपालीको मृत्यु, ५८ जना घाइते


काठमाडौं, फागुन १७ । इरानी आक्रमणमा परी संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली नागरिकको मृत्यु भएको छ । त्यहाँको रक्षा मन्त्रालयका अनुसार उक्त घटनामा एक नेपालीसहित तीन जनाको ज्यान गएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये एक नेपाली, एक पाकिस्तानी र एक बंगलादेशी नागरिक रहेका छन् । त्यस्तै, आक्रमणका क्रममा विभिन्न देशका ५८ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा इमिराती, इजिप्टियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमनी, युगान्डाली, इरिट्रियन, लेबनानी तथा अफगान नागरिक रहेका जनाइएको छ ।

रक्षा मन्त्रालयले हवाई प्रतिरक्षा प्रणालीमार्फत ब्यालिस्टिक मिसाइल र ड्रोन अवरोध गर्ने क्रममा तिनका केही अवशेष देशका विभिन्न भागमा खसेको जनाएको छ । ती अवशेषका कारण सर्वसाधारणका सम्पत्तिमा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको उल्लेख गरिएको छ ।

मन्त्रालयले सशस्त्र बल कुनै पनि सम्भावित खतरा सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको दोहोर्‍याउँदै नागरिक, बसोबास गर्ने विदेशी तथा आगन्तुकहरूको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ ।