जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार २०:५४

कमजोर ठानिएको भूटानको लोभलाग्दो प्रर्दशन, फुटबलको फाइनलमा प्रवेश


काठमाडौं, मंसिर २१

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत भूटान पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै भूटान स्वर्ण पदक नजिक पुगेको हो ।

भूटानका लागि खेलको १९औँ मिनेटमा छिमी दोर्जीले पहिलो गोल गरेका थिए । यस्तै खेलको ६१औँ मिनेटमा दावा छिरिङले दोस्रो गोल गरे । खेलको ८०औँ मिनेटमा एशी दोर्जीले गोल गर्दै भूटानलाई ३–० को स्थितिमा पु¥याए । भूटान पहिलोपटक साग फुटबलको फाइनलमा पुगेको हो । यसअघिका सागमा भूटान समूह चरणबाटै बाहिरिँदै आएको थियो ।

आइतबार हुने नेपाल र बङ्गलादेशबीचको खेलको विजेतासँग भूटानले स्वर्ण पदकका लागि फाइनल खेल्नेछ । चार खेलमा नौ अङ्क जोड्दै भूटान शीर्षस्थानमा रहेको छ ।

अब नेपाललाई कम्तिमा पनि पाँच गोलले हराएपछि मात्र बंगलादेश फाइनलमा प्रवेश गर्नेछ । त्यसअर्थ नेपालको फाइनल प्रवेशको सम्भावना निक्कै बलियो रहेको छ । आजै भएको पहिलो खेलमा उत्कृष्ठ पुनरागमन जनाउदै नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

भुटान भन्दा एक खेल कम खेलेको नेपालको ७ अंक छ भने बंगलादेशको ४ अंक रहेको छ । श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।