काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट सुहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७७६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्नुभएको हो।
अन्तिम मत परिणामअनुसार नेम्वाङले २२ हजार ४२६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गर्नुभएको छ।
त्यस्तै अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८१४ मत प्राप्त गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा सदस्यमा नेम्वाङको यो दोस्रो विजय हो। यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा पनि उहाँ यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। उक्त उपनिर्वाचनमा उहाँले कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८२० मतान्तरले पराजित गर्नुभएको थियो।
निर्वाचन आयोगका अनुसार इलाम–२ मा कुल १ लाख १९ हजार ४८९ मतदाता रहेकामा ६७ हजार ६६४ मत खसेको थियो। तीमध्ये ३ हजार ८८३ मत बदर भएको जनाइएको छ। यस निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारसहित जम्मा १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको थियो।
निर्वाचनमा विजयी भएपछि नेम्वाङले इलामेली मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दै भावुक सन्देश जारी गर्नुभएको छ। उहाँले इलाम–२ का आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूले आफूलाई दिएको माया, विश्वास र भरोसाप्रति आफू अत्यन्त ऋणी रहेको उल्लेख गर्नुभएको छ। ‘यहाँहरूको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र अटुट भरोसालाई मतमा परिणत गरेर प्रतिनिधिसभा निर्वाचन–२०८२ मा इलाम क्षेत्र नं. २ बाट आफ्नो प्रतिनिधिको रूपमा मलाई छनोट गर्नुभएको छ,’ उहाँले भन्नुभएको छ, ‘यो मेरो मात्रै होइन, यहाँहरूको पनि जित हो, म यहाँहरूप्रति असाध्यै ऋणी छु।’
उहाँले मतदाताले दिएको मतलाई इलामको समृद्धि र भावी पुस्ताको भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानीका रूपमा आफूले लिएको बताउँदै पूर्ण इमानदारी र निष्ठाका साथ जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ‘माया, विश्वास र भरोसाका साथ तपाईँहरूले मलाई दिनुभएको यो अमूल्य मत इलामको समृद्धि र भावी सन्ततिका लागि गरिएको महान् लगानी हो,’ उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ, ‘म पूर्ण इमान र निष्ठाका साथ मन, वचन र कर्मले अहोरात्र तपाईँहरूकै सेवामा समर्पित भइरहनेछु।’
नेम्वाङले आफ्नो सन्देशमा इलामको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई पनि स्मरण गर्नुभएको छ। उहाँले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा बलिदान दिनुहुने शहीद रत्नकुमार बान्तवा र बमप्रसाद बान्तवाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
त्यसै गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका आफ्ना पिता तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति पनि उहाँले श्रद्धा सुमन अर्पण गर्नुभएको छ।
उहाँले अग्रजहरूले देखाएको मार्गलाई आत्मसात् गर्दै इलाम र देशको विकास तथा जनताको आकाङ्क्षा पूरा गर्ने दिशामा आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेम्वाङले निर्वाचनका क्रममा इलामका विभिन्न गाउँ–नगरमा पुग्दा स्थानीय बासिन्दा, युवा तथा महिला समूहबाट प्राप्त स्नेह र समर्थनलाई आफ्नो राजनीतिक यात्राको ठुलो ऊर्जा भएको बताउनुभएको छ। फाकफोकथुमदेखि माङसेबुङ हुँदै चुलाचुलीसम्म तथा इलाम, देउमाई र माईका विभिन्न बस्तीमा घरदैलो अभियानका क्रममा पाएको स्नेहले आफूलाई अझ जिम्मेवार बनाएको उहाँको भनाइ छ।
उहाँले विशेष गरी युवापुस्ताले खोजिरहेको परिवर्तन र रूपान्तरणको आकाङ्क्षालाई आफूले नजिकबाट बुझेको उल्लेख गर्दै पार्टी र आन्दोलनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। ‘नयाँ पुस्ताले खोजिरहेको परिवर्तनको चाहनालाई मैले नजिकबाट बुझेको छु,’ उहाँले भन्नुभएको छ, ‘हाम्रा नीति, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार परिमार्जन गर्दै आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकता छ।’
नेम्वाङले निर्वाचन प्रक्रियालाई सफल बनाउन सहयोग गर्ने मतदाता, पार्टी कार्यकर्ता, सञ्चारकर्मी, निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा प्रशासनिक निकायप्रति पनि आभार व्यक्त गर्नुभएको छ।
साथै प्रतिस्पर्धामा रहेका अन्य राजनीतिक दलका उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै उहाँहरूले जनतामाझ उठाउनुभएका मुद्दालाई पनि संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ‘चुनावी मैदानमा यहाँहरूले जनतामाझ गर्नुभएका वाचा र प्रतिबद्धताहरू अब मेरा पनि साझा सङ्कल्प हुन्,’ उहाँले भन्नुभएको छ, ‘ती मुद्दाहरूलाई संसद्मा बुलन्द गर्ने जिम्मेवारी म पूर्ण निष्ठाका साथ वहन गर्नेछु।’
नेम्वाङले इलामेली मतदाताको विश्वासलाई कहिल्यै निराश नपार्ने दृढ सङ्कल्प व्यक्त गर्दै इलामको विकास, समृद्धि र जनसेवाका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ।
यस्तो छ सन्देश
हार्दिक आभार तथा धन्यवाद !
अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
यहाँहरूको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र अटुट भरोसालाई मतमा परिणत गरेर प्रतिनिधिसभा निर्वाचन–२०८२ मा इलाम क्षेत्र नं. २ बाट आफ्नो प्रतिनिधिको रूपमा मलाई छनोट गर्नुभएको छ । यो हाम्रो मात्रै होइन हजुरहरूको जित पनि हो । म हजुरहरूप्रति असाध्यै ऋणी छु । आभारी छु ।
मलाई पूर्ण बोध छ, – माया, विश्वास र भरोसाका साथ तपाईँहरूले मलाई दिनुभएको यो अमूल्य मत इलामको समृद्धि र भावी सन्ततिका लागि गरिएको एउटा महान् लगानी हो । तपाईँहरूले मप्रति गर्नुभएको यो विश्वासको ‘ऋण’ म कसरी र कति चुक्ता गर्न सकुँला ? त्यो त समयले नै बताउनेछ; तर यति वाचा गर्दछु, ‘म पूर्ण इमान र निष्ठाका साथ मन, वचन र कर्मले अहोरात्र तपाईँहरूकै सेवामा समर्पित भइरहनेछु ।’
म यहाँहरूलाई कहिल्यै निराश पार्ने छैन । मेरो कुनै पनि कार्य वा व्यवहारले इलाम क्षेत्र नं. २ का अति आदरणीय मतदाताहरूको शिर झुक्न दिने छैन । यहाँहरूलाई कहिल्यै निराश पार्ने छैन ।
हाम्रा अग्रजहरूले गर्नुभएको कष्टसाध्य सङ्घर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौँ । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देश भरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय सहिदहरू रत्नकुमार बान्तवा, बमप्रसाद बान्तवाप्रति हार्दिक श्रद्धा–सुमन व्यक्त गर्दछु । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु । उहाँहरूको बलिदान र योगदानप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरूले देखाउनु भएको बाटो र उज्यालोमा हिँड्ने प्रण गर्दछु ।
निर्वाचनको सिलसिलामा माथि फाकफोकथुमदेखि माङसेबुङ हुँदै तल चुलाचुलीसम्म, अनि इलामदेखि देउमाई र माईका प्रत्येक घरदैलोमा पुग्दा आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाइ तथा ऊर्जाशील युवा साथीहरूले देखाउनुभएको त्यो अतुलनीय स्नेहप्रति म नतमस्तक छु । तपाईँहरूले सुम्पिनुभएको यो अगाध विश्वासले मलाई विश्राम गर्ने छुट दिने छैन, बरु अझ बढी जिम्मेवार बनाउनेछ ।
नयाँ आशा, उमङ्ग र उच्च उत्साहका साथ अहोरात्र निर्वाचनको मैदानमा खटिनुभएका इलामेली नौजवान साथीहरूको साथ र समर्पण वास्तवमै शब्दमा अवर्णनीय छ । तपाईँहरूको यो निःस्वार्थ त्याग नै मेरो ऊर्जा, उत्साह र शक्तिको मुख्य स्रोत हो । म तपाईंहरुप्रति कसरी आभार प्रकट गरूँ ? तपाईंहरुप्रति धेरै–धेरै माया ।
आफ्ना कलिला नानीहरू काखमा च्यापेर घरदैलोमा निस्कनुभएका आमा–दिदीबहिनीहरू, अनि लौरो टेक्दै थुरथुर काँप्ने हातले आशिष् दिँदै ‘सुहाङ बाबुले जित्नुपर्छ’ भन्दै आँगनमा आउनुभएका वृद्ध वृद्धाहरूको त्यो ममतामयी दृश्य अझै पनि मेरो आँखामा नाचिरहेको छ । उज्यालो भविष्यको आशा बोकेर ‘अल द वेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने ती निर्दोष बालबालिकाहरूका आँखामा प्रतिबिम्बित निश्छल माया र भरोसालाई म हृदयमा सँगालेर राख्नेछु । तपाईँहरूका यी मायालु आँखा र भरोसायुक्त हातहरू नै मेरो राजनीतिक यात्राका सबैभन्दा ठुला ऊर्जा र मार्गदर्शन हुन् ।
इलामको भूगोलबाट प्रतिनिधित्व गर्नुहुने नेकपा (एमाले) का केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा केन्द्रीय विभागका आदरणीय नेताज्यूहरू, नेकपा (एमाले) इलाम जिल्ला कमिटीका नेतृत्वगण, जिल्लाका सबै स्थानीय तहका अगुवा नेताहरू एवं विभिन्न जनसंगठनका ऊर्जाशील साथीहरू-तपाईंहरू सबैप्रति म अनुगृहीत छु । तपाईँहरू स्वयं उम्मेदवार बने झैँ जुन दृढता र सक्रियताका साथ अहोरात्र जनस्तरमा पुग्नुभयो, त्यसका लागि कृतज्ञता प्रकट गर्न मसँग पर्याप्त शब्दहरू छैनन् । कठिन परिस्थितिमा तपाईँहरूले देखाउनुभएको यो अभूतपूर्व साथ र सहयोगप्रति म सदैव ऋणी रहनेछु । तपाईँहरूको यो पसिना र विश्वासलाई म खेर जान दिने छैन ।
हाम्रा सपना र सङ्कल्पहरूलाई आम जनमानससम्म पुर्याउन अहोरात्र खटिनुहुने सम्पूर्ण सञ्चारकर्मी मित्रहरू, निर्वाचनलाई निष्पक्ष र सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिनुहुने मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा कर्मचारी मित्रहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।
यस लोकतान्त्रिक अभ्यासमा मसँगै प्रतिस्पर्धामा रहनुभएका विभिन्न राजनीतिक दलका आदरणीय उम्मेदवारज्यूहरूलाई उहाँहरूको उज्यालो र सुखद राजनीतिक भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । चुनावी मैदानमा यहाँहरूले जनतामाझ गर्नुभएका वाचा, प्रतिज्ञा र प्रतिबद्धताहरू अब मेरा पनि साझा सङ्कल्प हुन् । ती मुद्दाहरूलाई सिंहदरबार र संसद्को रोस्टममा बुलन्द गर्ने जिम्मेवारी म पूर्ण निष्ठाका साथ वहन गर्नेछु । तपाईँहरूको निरन्तर सुझाव, रचनात्मक सल्लाह र सजग खबरदारी नै आगामी दिनमा मेरो मुख्य मार्गदर्शन हुनेछ।
मतदानकै लागि प्रवास र काठमाडौंदेखि कष्ट सहेर इलामसम्म आइपुग्नुभएका सम्पूर्ण प्रियजनहरू प्रति म र कृतज्ञ छु । विशेष परिस्थितिवश स–शरीर इलाममा उपस्थित हुन नसक्नुभए पनि प्रवास र देशभरबाट विभिन्न माध्यममार्फत मप्रति अटुट सद्भाव र शुभकामना व्यक्त गर्नुहुने तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा मलाई सहयोग र ऊर्जा प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
आदरणीय कमरेडहरू !
देशभरबाट प्राप्त भइरहेको निर्वाचनको परिणामसँग म पूर्णतः अवगत छु । हाम्रो पार्टी र आन्दोलनप्रति विगतमा आम जनसमुदायले प्रकट गर्नुभएको त्यो असाधारण स्नेह र अभूतपूर्व विश्वासको गौरवमय इतिहास मेरो मानसपटलमा सजीव छ । वर्तमान समयमा हामीमाथि उठिरहेका प्रश्न, गरिएका आलोचना र व्यक्त भएका खबरदारीप्रति पनि उत्तिकै जानकार छु । हाम्रा कमजोरी र सीमाहरूका बारेमा पनि म उत्तिकै सचेत छु । विशेष गरी नयाँ पुस्ताले खोजिरहेको रूपान्तरण र परिवर्तनको चाहनालाई मैले नजिकबाट बुझेको छु । त्यही पुस्ताको सदस्य हुनुको नाताले त्यसलाई मनबाट बुझेको छु ।
यो संवेदनशील घडीमा देशभरका सम्पूर्ण कमरेडहरूलाई विचलित नभई थप दृढता र सशक्त ऊर्जाका साथ जनसेवामा समर्पित हुन हार्दिक अपिल गर्दछु । हाम्रा नीति, संगठन, संरचना र कार्यशैलीमा रहेका त्रुटिहरूलाई जनअपेक्षा अनुरूप परिमार्जन गर्दै पार्टी र आन्दोलनलाई नयाँ उचाइबाट पुनर्गठित गर्नुको अब हामीसँग अर्को विकल्प छैन । मलाई दृढ विश्वास छ, ‘हामी फेरि उठ्नेछौँ ।’ त्यसका लागि मानसिक र सांगठनिक रूपमा तयार रहन म सबैमा हार्दिक अनुरोध गर्दछु।
२४ फागुन २०८२, इलाम
सुहाङ नेम्वाङ













प्रतिक्रिया दिनुहोस्