काठमाडौं, फागुन २५ । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा प्रमुख भनिएका सात दलका शीर्ष नेतामध्ये अधिकांश पराजित भएका छन् । निर्वाचनको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहेक अन्य दलका शीर्ष नेताहरू पराजित हुनुभएको छ ।
निर्वाचन परिणामअनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पराजित हुनुभएको हो ।
झापा–५ बाट उम्मेदवार बन्नुभएका एमाले अध्यक्ष ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहले पराजित गर्नुभएको छ । झापा–५ मा शाहले ६८ हजार ३४८ मत प्राप्त गरी विजयी हुँदा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबिच ४९ हजार ६१४ मतको ठुलो अन्तर देखिएको छ ।
त्यस्तै, सर्लाही–४ बाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित हुनुभएको छ । सिंहले ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुँदा थापाले २२ हजार ८३१ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापा–३ मा पराजित हुनुभएको छ । उहाँलाई रास्वपाका उम्मेदवार प्रकाश पाठकले पराजित गर्नुभएको हो । पाठकले ३८ हजार ६७४ मत प्राप्त गरी विजयी हुँदा लिङ्देनले १७ हजार २९४ मत प्राप्त गर्नुभएको छ ।
यसै गरी नवगठित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ मा पराजित हुनुभएको छ । उहाँलाई रास्वपाका राजुनाथ पाण्डेले १८ हजार ७५७ मतसहित पराजित गर्नुभएको हो । घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ । पाण्डेसँग घिसिङ ७ हजार ५८६ मतान्तरले पराजित हुनुभएको हो ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी–३ मा पराजित हुनुभएको छ । उहाँलाई रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८७५ मतसहित पराजित गर्नुभएको हो । यादवले १५ हजार २३९ मत प्राप्त गर्नुभएको छ । चौधरीले यादवलाई साढे १७ हजारभन्दा बढी मतान्तरले हराउनुभएको हो ।
सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि पराजित हुनुभएको छ । उहाँलाई रास्वपाका रविन महतोले ४२ हजार ५१२ मत प्राप्त गरी पराजित गर्नुभएको हो । महतोले जम्मा ५ हजार ९९२ मत प्राप्त गर्नुभएको छ ।
यसैबीच जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सप्तरी–२ बाट पराजित हुनुभएको छ । उहाँलाई रास्वपाकै रामजी यादवले २८ हजार ४०४ मतसहित पराजित गर्नुभएको हो । राउत तेस्रो स्थानमा सीमित हुनुभएको छ । उहाँले ९ हजार ८८० मत प्राप्त गर्नुभएको छ ।
यस पटकको निर्वाचन परिणामले परम्परागत दलका शीर्ष नेताहरूलाई मतदाताले अस्वीकार गरेका छन् । नयाँ दलका उम्मेदवारहरूले प्रमुख नेताहरूलाई पराजित गर्नुले राजनीतिक शक्ति सन्तुलनमा ठुलो परिवर्तनको सङ्केत गरेको छ ।













प्रतिक्रिया दिनुहोस्