काठमाडौं, चैत ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धमा अमेरिका लक्ष्यको नजिक पुगिसकेको भन्दै रोक्नेबारे सोचिरहेको बताउनु भएको छ ।
शनिबार सामाजिक सञ्जाल ट्रूथमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले लक्ष्यको करिब पुगिसकेकाले बिस्तारै युद्ध रोक्नेबारे सोचिरहेको जानकारी दिनुभएको हो ।
‘हामी इरानको आतंकी शासनको सन्दर्भमा मध्यपूर्वमा आफ्नो ठूलो सैन्य अभियान विस्तार–बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ, ‘किनकि हामी आफ्नो लक्ष्यको निकै नजिक पुगिसकेका छौँ ।’
अमेरिका र इजरायलले आफूमाथि सैन्य हमला गरेपछि इरानले समुद्री नाका स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गरेको छ । जसले विश्वमै सबैभन्दा ठूलो तनाव सिर्जना गर्दै विश्वभर ऊर्जा संकट निम्त्याएको छ । सो बिषयमा ट्रम्पले अमेरिकालाई त्यसको सुरक्षाबारे चिन्ता नभएको आशय व्यक्त गर्नुभएको छ । ‘त्यसको सुरक्षाको निगरानी गर्ने जिम्मा ती देशले उठाउनुपर्छ, जसले त्यसको प्रयोग गर्छन,’ ट्रम्पले भन्नुभएको छ ।
यद्यपि ती देशले अमेरिकासँग होर्मुजको सुरक्षाका लागि सहयोग मागे मद्दत गर्ने प्रतिबद्धता भने जनाउनु भएको छ । ‘तर, इरानको खतरा सकिएपछि हाम्रो सहयोग पनि आवश्यक पर्ने छैन । किनकि ती देशका लागि त्यो सजिलो सैन्य अभ्यास हुनेछ,’ ट्रम्पले भन्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले हालसम्मको युद्धमा इरानको मिसाइल क्षमता पूरा नष्ट गरिसकेको, इरानको सैन्य औद्योगिक आधारलाई ध्वस्त पारेको र इरान कहिल्यै पनि परमाणु हतियार बनाउनको नजिकसम्म नपुगोस् भनेर सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ ।
उहाँले मध्यपूर्वमा अमेरिकाले आफ्ना सहयोगी इजरायल, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत र अन्य देशलाई उच्चतम सुरक्षा प्रदान गरेको दाबी पनि गर्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्