जनता टाइम्स

९ चैत्र २०८२, सोमबार १४:३२

कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरु 


काठमाडौं, चैत ९। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेकाे विभिन्न महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। चैत ६ देखि ८ गतेसम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकमा ८८ जना सदस्य तथा पदाधिकारीहरूले धारणा राखेपछि भएको विस्तृत छलफल, विश्लेषण र समीक्षापछि उक्त निर्णय सर्वसम्मत रूपमा गरिएको पार्टीले जनाएको छ।

सभापति थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै उपसभापतिसमक्ष राजीनामा पेस गर्नुभएको थियो। तर बैठकले वर्तमान जटिल राजनीतिक परिस्थितिमा उहाँकै नेतृत्व आवश्यक रहेको निष्कर्ष निकाल्दै राजीनामा अस्वीकृत गरेको हो।

राजीनामा अस्वीकृत गर्ने निर्णयका आधारमा बैठकले निर्वाचन पराजयका कारणहरू संरचनागत तथा परिस्थितिजन्य रहेको, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अस्थिरता बढ्ने सम्भावना रहेको तथा सामूहिक जिम्मेवारीको सिद्धान्तअनुसार नेतृत्व निरन्तरता आवश्यक रहेको उल्लेख गरेको छ।

त्यसैगरी, बैठकले उपसभापति शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक निर्वाचन समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ। प्रतिवेदनमा गुटबन्दी, आन्तरिक असहयोग, गठबन्धन सरकारको कार्यसम्पादनप्रति जनअसन्तुष्टि, बारम्बार सरकार परिवर्तन, जेन–जेड युवाको असन्तोष र डिजिटल प्रभावजस्ता कारणले निर्वाचन परिणाम प्रभावित भएको निष्कर्ष निकालिएको छ।

बैठकले अब पार्टीलाई १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय गर्दै नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी रणनीति तय गरिने जनाएको छ।

यसैबिच, पार्टीले निर्वाचन परिणामलाई आत्मसमिक्षाको अवसरका रूपमा लिँदै संगठन सुदृढीकरण, अनुशासन र एकतामा जोड दिएको छ। सम्पूर्ण कार्यकर्तालाई मनोबल उच्च राख्दै पार्टी एकता सुदृढ गर्न आह्वान गरिएको छ।

बैठकले मध्यपूर्वमा चर्किएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेको छ। साथै, अमृत झालाई सुरक्षित रूपमा स्वदेश फर्काउन माग गरिएको छ।

त्यसैगरी, भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि बैठकले माग गरेको छ।

बैठकले यस अवधिमा निधन भएका पार्टीका नेता तथा कार्यकर्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। प्रवक्ता देवराज चालीसेले बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकका निर्णयहरू

आदरणीय सञ्चारकर्मी मित्रहरू,

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २०८२ चैत्र ६ देखि ८ गतेसम्म उपसभापति श्री विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा उपसभापतिद्वारा प्रस्तुत विषयमाथि ८८ जना सदस्य तथा पदाधिकारीहरू द्वारा आफ्नो धारणा राख्नु भयो । बैठकमा भएका गहन छलफल, विश्लेषण तथा समीक्षा पश्चात् निम्न निर्णयहरू सर्वसम्मत रूपमा गरिएको छ:

१. सभापतिको राजीनामा सम्बन्धमा निर्णय

सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) बमोजिम पेस गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ।

२. राजीनामा अस्वीकार गर्ने आधारहरू

बैठकले निम्न आधारहरूलाई ध्यानमा राख्दै राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ:

• निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको

• वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको

• राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले

• राजीनामा बाध्यकारी नभई नैतिक र स्वैच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले

• सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्धान्तमा आधारित रहेकोले

• विशेष महाअधिवेशन पश्चात् प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले

• पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले

• केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले

३. निर्वाचन परिणामको प्रारम्भिक समीक्षा लाई परिमार्जन सहित पारित गरिएको छ ।

उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि बैठकमा विस्तृत छलफल गरिएको छ।

निर्वाचन परिणामलाई लिएर जिल्ला र निर्वाचन क्षेत्रबाट पनि प्रतिवेदन पठाउन भनिएको छ । प्रारम्भिक समीक्षा र जिल्ला वाट आएको प्रतिवेदनलाई एकीकृत गरी पुनः समीक्षा गरी निर्वाचन परिणाममा प्रस्तुत २७ बुँदे प्रतिवेदनको सारांशअनुसार निर्वाचन परिणामका प्रमुख कारणहरू निम्नानुसार रहेका छन्:

• चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण सङ्गठनात्मक शक्ति कमजोर हुनु।

• गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु।

• विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तन समेत ) का कारण जनआक्रोश बढ्नु।

• जेन–जेड युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु।

• डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरू लाई प्रतिक्रियात्मक लाभ पुग्नु।

यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको बैठकले ठहर गरेको छ। विशेष महाधिवेशन पश्चात् गठन भएको नयाँ नेतृत्वलाई सीमित समयावधि (करिब ५० दिन) भित्र यी सबै चुनौतीहरू समाधान गर्न कठिन भएको निष्कर्ष रहेको छ।

४. आगामी कार्यदिशा: १५औँ महाधिवेशन

नेपाली कांग्रेस अब पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित भएको छ।

उक्त महाधिवेशनमार्फत:

• नयाँ नेतृत्व चयन,

• विधान संशोधन,

• सङ्गठनात्मक पुनर्संरचना,

• तथा भावी रणनीति निर्धारण गरिनेछ।

पार्टीका सम्पूर्ण ऊर्जा, योजना र प्रतिबद्धता अब यस महाधिवेशनको सफलतामा केन्द्रित रहनेछ।

५. पार्टी नवनिर्माण र सुदृढीकरण

यस निर्वाचन परिणामलाई आत्म समीक्षा गर्दै नेपाली कांग्रेसले पार्टीलाई पुनर्जागरण र पुनर्निर्माण गर्ने अवसर का रूपमा लिएको छ।

यसका लागि सम्पूर्ण कार्यकर्तालाई:

• उच्च मनोबल कायम राख्न,

• अनुशासनमा रहन,

• र पार्टी एकता सुदृढ गर्न हार्दिक आह्वान गरिन्छ।

एकता नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो।

६. धन्यवाद तथा बधाई

निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउनुहुने:

• सम्पूर्ण उम्मेदवार,

• कार्यकर्ता,

• भातृ तथा शुभेच्छुक संस्थाहरू,

• तथा स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

विजयी सबै उम्मेदवारहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौ ।

कठिन परिस्थितिका बाबजुद नेपाली कांग्रेसलाई मत प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ।

जनताको मतादेश र स्पष्ट सन्देशलाई पार्टीले गम्भीरतापूर्वक आत्मसात् गर्दछौ ।

विविध :

क)मध्यपूर्वमा चर्किएको युद्ध सम्बन्धमा यो बैठक विश्वशान्तिको अनिवार्य आवश्यकतालाई महसुस गर्दै युद्धको अन्त्य हुने अपेक्षा गर्दछ । युद्धग्रस्त क्षेत्रमा लाखौँ नेपालीहरू असुरक्षित छन् तीनको आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।

युद्धको क्रममा हर्मुज क्षेत्रको बन्दर अव्वास बन्दरगाहमा इरानी सेना द्वारा नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झा लाई सकुशल मुक्त गरी स्वदेश फर्काउन यो बैठक नेपाल सरकारसँग माग गर्दछ ।

ख) २०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटना बारे न्यायिक जाँचबुझ गर्न गठित श्री गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा नेपाल सरकारलाई बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न यो बैठक माग गर्दछ ।

ग) शोक प्रस्ताव

कार्यसमितिको २०८२ माघ ९ देखि यो बैठकका बिचको अवधिमा नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएका पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहनु भएका महानुभावहरूको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवङ्गत आत्माको चिर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।

जय नेपाल !

देवराज चालीसे

प्रवक्ता

नेपाली कांग्रेस, केन्द्रीय समिति ।