जनता टाइम्स

२५ मंसिर २०७६, बुधबार १६:२०

सागको स्वर्ण विजेतालाई प्रधानमन्त्रीको सरप्राइज रकम घोषणा


काठमाडौं, मंसिर २५

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा पदक विजेता खेलाडीलाई सरकारले सरप्राइज रकमको घोषणा गरेको छ । विजयी खेलाडीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरप्राइज’ रकमको घोषणा गर्नुभयो ।

बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिने क्रममा उहाले विशेष पुरस्कारको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गर्नुभयो ।

अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो । नेपालको आयोजनामा भएको साग प्रतियोगिता मंगलबार समापन भएको थियो । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कुल २०६ पदक जित्दै तालिकामा दोस्रो भएको थियो ।