जनता टाइम्स

११ चैत्र २०८२, बुधबार १६:२०

कम्बोडियाले एकैपटक निष्काशन गर्यो ५१ जना नेपाली


काठमाडौं, चैत ११ । कम्बोडियाले एकैपटक ५१ जना नेपालीलाई निष्कासन गरेको छ। अनलाइन गेमिङ सेन्टर र क्यासिनोमा अवैध रूपमा काम गर्दै आएका उनीहरूलाई कम्बोडिया सरकारले देश निकाला गरेको हो। निष्काशनमा परेका नेपाली कामदार थाइ एयरवेजको जहाजबाट बुधबार बैंकक हुँदै काठमाडौं आइपुगेका छन ।

विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरूलाई अन्य गैरकानुनी काममासमेत लगाइएको थियो।

कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको गुनासो थाइल्यान्डस्थित दूतावासमा आएपछि छानविन गरी निकाला गरिएको बताइएको छ।

स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरैको गुनासो आएको दूतावासले जनाएको छ। चिनियाँ नागरिकहरूले कम्बोडिया र म्यानमारमा अवैधरूपमा गेमिङ सेन्टरहरू सञ्चालन गर्ने गरेको र नेपालीहरू मानव तस्करबाट त्यहाँ पुग्ने गरेका छन्।