जनता टाइम्स

१६ चैत्र २०८२, सोमबार २१:०३

भारतबाट बिजुली आपूर्ति समय घट्यो, अब दैनिक १६ घण्टामात्रै आयात अनुमति


काठमाडौं,  चैत १६ । भारत ले नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत् आपूर्तिको समय घटाएको छ। नयाँ व्यवस्थाअनुसार अब नेपालले दैनिक १६ घण्टामात्रै बिजुली आयात गर्न पाउने भएको छ।

नेपाल विद्युत् प्राधिकरण का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य का अनुसार भारतले विद्युत् आयातको अनुमति नवीकरण गर्दै फरक समयतालिका निर्धारण गरेको हो।

उहाँका अनुसार, अप्रिल महिनामा बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म (१६ घण्टा) र मे महिनामा बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म (१६ घण्टा) विद्युत् आयातको अनुमति दिइएको छ।

भारतले उच्च माग हुने समयावधिमा आपूर्ति सीमित गर्दै अन्य समयमा मात्र अनुमति दिएको प्राधिकरणले जनाएको छ। यसले नेपालमा लोड व्यवस्थापनमा थप चुनौती उत्पन्न हुने देखिएको छ।

भारतीय विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमार्फत इन्डियन इनर्जी एक्सचेन्ज (IEX) को डे–अहेड र रियल–टाइम बजारबाट नेपालले विद्युत् खरिद गर्दै आएको छ। यसअघि उक्त अनुमति चैत १७ गतेसम्मका लागि मात्र कायम रहेको थियो।

यसैबीच, गत असोजमा गरिएको विद्युत् खरिद सम्झौताअनुसार १८० मेगावाट विद्युत् आयातले केही राहत दिने अपेक्षा गरिएको छ। सो सम्झौता तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङ र कार्यकारी निर्देशक मनोज सिलवाल को कार्यकालमा गरिएको थियो।

सुक्खायाममा माग धान्न प्राधिकरणले थप १०० मेगावाट विद्युत् खुला प्रतिस्पर्धाबाट खरिद गर्न टेन्डर आह्वान गरे पनि कुनै आवेदन नपरेको जनाइएको छ।

नेपालका अधिकांश जलविद्युत् आयोजना ‘रन अफ रिभर’ प्रकृतिका भएकाले हिउँदमा उत्पादन घट्ने र गर्मीयाममा माग तीव्र रूपमा बढ्ने समस्या दोहोरिँदै आएको छ। गत वर्ष वैशाखमा देशको विद्युत् माग २२५० मेगावाट नाघेको थियो भने जेठमा अझै बढेको थियो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल का अनुसार हाल नेपालमा कुल स्थापित जलविद्युत् क्षमता ४ हजार मेगावाट नाघिसकेको छ, जसमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको छ।

ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार जलाशययुक्त आयोजना, प्रसारण पूर्वाधार र ऊर्जा भण्डारण प्रणालीमा पर्याप्त लगानी नभएसम्म नेपालले हरेक वर्ष सुक्खायाममा विद्युत् अभावको समस्या झेलिरहने जोखिम कायमै रहनेछ।