जनता टाइम्स

१९ चैत्र २०८२, बिहीबार १०:२१

निर्माण व्यवसायी महासंघको निर्वाचन आज, पाण्डे र लामा प्यानलसहित प्रतिस्पर्धामा


काठमाडौं,  चैत्र १९ । नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन कमलादीस्थित प्रज्ञा भवनमा हुने तय गरिएको छ।

महासंघको अध्यक्ष पदका लागि कालिका कन्स्ट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामा बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। दुवै उम्मेदवार आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएको छ।

लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ ले उम्मेदवारी दर्ता गर्नुभएको छ।

त्यस्तै, पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतम ले उम्मेदवारी दिनुभएको छ।

निर्माण व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको महासंघको नयाँ नेतृत्व चयनलाई निर्माण क्षेत्रले चासोका साथ हेरिरहेको छ। आगामी कार्यकालमा पूर्वाधार विकास, निर्माण क्षेत्रका नीतिगत सुधार र व्यवसायीका समस्या समाधान प्रमुख एजेन्डाका रूपमा उठ्ने अपेक्षा गरिएको छ।