जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १३:३०

ह्वात्तै बढ्यो सम्पत्ति सुद्धिकरण बिभागको सक्रियता, ११ बैंकका सिइओमाथि यसरी हुँदैछ बिस्तृत छानविन


काठमाडौं, मंसिर २६ । सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले आफ्नो सक्रियता ह्वात्तै बढाएको छ । सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमातहत ल्याइएपछि सक्रियता ह्वात्तै बढाएको हो ।

सक्रियता बढाएसँगै बिभागले एघार वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)माथि एकैपटक अनुसन्धान थालेको छ । सम्पूर्ण वाणिज्य बैंकका सिइओमाथि अनुसन्धान अघि बढाएको बिभागले पहिलो चरणमा ११ ओटा बैंकका सिइओमाथि भने गहन अनुसन्धान अघि बढाएको हो । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीमाथि विभागको यसअघिदेखि नै निगरानी गरिरहेका थियो । निगरानीको क्रममा ११ जनाको विस्तृत अनुसन्धान अघि बढाइएको हो । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गर्दा अनियमितिता गर्ने र गलत तरिकाबाट लाभ उठाउने गरेको गुनासो आएपछि विभागले साउनमा वाणिज्य बैंकको ऋण शाखामा काम गर्ने उच्चस्तरका कर्मचारी र सिइओको विवरण संकलन गरेको थियो ।

बिवरण आएसँगै निरन्तर अनुसन्धान अघि बढाइएको र गम्भीर बिषय फेलापरेका ११ जनाको विस्तृत अनुसन्धान अघि बढाउने निश्कर्षमा बिभाग पुगेको हो । ‘अनुसन्धानको क्रममा गम्भीर देखिएकाहरुमाथि बिस्तृत छानविन भइरहेको छ,’ बिभागका एक अधिकृतले जनताटाइम्ससँग भने । ती अधिकारीका अनुसार सम्पत्ती शुद्धीकरणको अनुसन्धानको दायरामा नेपाल बैंकर्स संघकै पदाधिकारी रहिसकेकादेखि नयाँ बैंकरहरु समेत परेका छन । सबैभन्दा बलियो सुपरीवेक्षण र नियमनको दायरामा रहेको बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो पदीय दायित्व र जिम्मेवारीको दुरुपयोग गर्दै कमसल धितोमा ऋण दिने, ऋणीसँग अनुचित लाभ लिने र कर्जा दुरुपयोगसमेत गरेको प्रमाणहरु भेटिएको स्रोतको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको सम्पत्तीमा अस्वाभाविक वृद्धि देखिएपछि अनुसन्धान अघि बढाउने निश्कर्षमा बिभाग पुगेको हो ।
विभागले बैंक तथा वित्तीय संस्थाबाट सम्पत्ति शुद्धीकरणको दृष्टिकोणमा जोखिमयुक्त क्षेत्रमा ऋण प्रवाह भइरहेको आशंकमा सम्पूर्ण बैंकका कर्जा शाखामा काम गर्ने उच्च अधिकृतहरु र सिइओको विवरण संकलन गरेको थियो ।